काठमाडौं – नेपाल चिकित्सक संघको निर्वाचन आगामी फागुन २१ गतेसम्म स्थगित भएको छ। निर्वाचन आयोगले संघ संस्थाका चुनाव रोक्न निर्देशन दिँदा चिकित्सक संघको निर्वाचन पनि प्रभावित भएको हो।
श्रोतका अनुसार आयोगले शुक्रबार नेपाल चिकित्सक संघको निर्वाचनसहित नेपाल उद्योग वाणिज्य महासंघको प्रदेश सभागत चुनाव, नेपाल निर्माण व्यवसायी महासंघको साधारण सभा लगायत विभिन्न संघ संस्थाका कार्यक्रम स्थगित गर्न निर्देशन दिएको छ। तर चिकित्सक संघको चुनाव समितिले अहिलेसम्म यसबारे कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।
यसअघि उच्च अदालत पाटनले नेपाल चिकित्सक संघको केन्द्रीय कार्यकारिणी समितिको निर्वाचन प्रक्रिया नियमअनुसार पूरा नभएको ठहर गर्दै हालका लागि निर्वाचन नगर्न अन्तरिम आदेश जारी गरेको थियो। अदालतको उक्त आदेशपछि माघ २ र ३ गतेका लागि तय गरिएको निर्वाचन स्थगित गरिएको थियो।
निर्वाचन तालिका अनुसार चिकित्सक संघको मतदान उपत्यका बाहिर माघ २ र ३ गते तथा उपत्यका भित्र माघ १५, १६ र १७ गते हुने तय गरिएको थियो।
अब संघको निर्वाचन आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनपछि हुने निर्वाचन आचारसंहितासँग मेल खाने गरी नयाँ मिति तोकिने छ।







