असोज १७, रुपन्देही ।
प्रदेश राजधानी दाङ बनाउने ५ नं. प्रदेश सरकारको प्रस्तावको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विरोध गर्ने भएको छ । कांग्रेस रुपन्देहीले अस्थायी राजधानी रहेको बुटवलबाट सारेर दाङ र अर्घखाँचीको भालुवाङ क्षेत्रलाई राजधानी कायम गर्ने प्रदेश सरकारको प्रस्ताव विरुद्ध आन्दोलन घोषणा गरेको छ ।
शनिबार बुटवलमा बसेको पार्टीको बैठकले सरकारको प्रस्तावविरुद्ध आइतबार रुपन्देही बन्द गरी बृहत प्रदर्शन गर्ने निर्णय गरेको हो । १९ गते आइतबार ‘बुटवल जाऔं राजधानी जोगाऔं’ नाराका साथ प्रदेश सभा घेराउ र धर्ना गर्ने कार्यक्रम रहेको उक्त दलले जनाएको छ ।
प्रदेशसभामा भालुवाङलाई स्थायी राजधानी बनाउने प्रस्तावमाथि आइतबार छलफल गर्ने तयारी छ । कांग्रेसले सोही दिन जिल्लाभरबाट कार्यकर्ता बुटवल उतारेर सांसदहरुलाई प्रदेश सभा बैठकमा जान नदिने रणनीति अख्तियार गरेको पार्टी सचिव रामकृष्ण खांणले बताए ।
‘बिहान १० बजेदेखि ५ बजेसम्म प्रदेशसभा घेराउ गर्ने कार्यक्रम तय गरेका छौं’, बैठकपछि सचिव खांणले भने ।







