तीन भेटेरिनरी डाक्टर संसदीय निर्वाचनको प्रतिस्पर्धामा

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा तीन जना भेटेरिनरी डाक्टरहरू विभिन्न जिल्लाबाट उम्मेदवार बनेर निर्वाचन प्रतिस्पर्धामा उत्रिएका छन्।

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट भेटेरिनरी डाक्टर पिताम्बर कुशवाह प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका छन्। पशु स्वास्थ्य तथा पशुपालन क्षेत्रमा लामो समयदेखि क्रियाशील कुशवाह पहिलो पटक संसदीय निर्वाचनमा सहभागी भएका हुन्।

यस्तै बारा निर्वाचन क्षेत्र नम्बर १ बाट भेटेरिनरी डाक्टर कमरुल्लाह अन्सारी उम्मेदवार बनेका छन्। उनी पशु स्वास्थ्य सेवामार्फत ग्रामीण समुदायसँग प्रत्यक्ष रूपमा जोडिँदै आएका व्यक्ति हुन्।

सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट भेटेरिनरी डाक्टर शरद सिंह यादव पनि प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका छन्। यादव पशु सेवा क्षेत्रसँगै सामाजिक गतिविधिमा समेत सक्रिय रहँदै आएका छन्।

पशु स्वास्थ्य तथा कृषिमा आधारित अर्थतन्त्रलाई राष्ट्रिय राजनीतिमा प्रभावकारी रूपमा उठाउने उद्देश्यसहित उनीहरू निर्वाचन मैदानमा उत्रिएको बताइएको छ।