२१ जेठ, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद पार्वती कुमारी बिसुन्केले रुकुम पश्चिम चौरजहारी प्रहरी चौकीका सबै प्रहरीलाई कारवाही गर्न माग गरेकी छन् ।
प्रहरीको लापरवाहीका कारण जेठ १० गते ६ जनाको ज्यान जाने गरी घटना घटको भन्दै उनले प्रहरीलाई पनि अनुसन्धानको दायरामा ल्याएर कारबाही गर्नुपर्ने बताएकी हुन् ।
जेठ १० गते रुकुम पश्चिमको चौरजहारी प्रेमिकासँग विवाह गर्न साथीसहित गएका जाजरकोटका नवराज विकको हत्या भएको थियो । उनीसहित ६ जना साथीको शव भेरी नदीमा भेटिएको छ । घटनामा १२ जना घाइते भएका छन् ।
घटना भएको १० दिन भइसक्दा समेत सरकारले घटनाबारे यथार्थ सार्वजनिक गर्न नसकेको भनेर संसद र संसदबाहिर सरकारको विरोध भइरहेको छ । यहि बेला सांसद बिसुन्केले चौरजहारी प्रहरीचौकीका सबै प्रहरीलाई कारवाहीको माग गरेकी छन् ।
‘चौरजहारी प्रहरी चौकीमा कार्यरत सबैलाई अनुसन्धानको दायरामा ल्याउनुपर्छ । जाजरकोटबाट पुगेका दुईजना प्रहरीसहित चौरजहारी चौकीका सबैलाई कारबाही गरियोस्,’ उनले भनेकी छन् ।







