प्रधानमन्त्रीका सचिवालयका अधिकांशलाई कोरोना देखिएपछि भेटघाट बन्द

असोज १८, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीका सचिवालयका अधिकांशलाई कोरोना संक्रमण देखिएपछि सबै भेटघाट तत्कालका लागि स्थगित गरिएको छ । सत्तारूढ दल नेकपाका स्थायी कमिटि सदस्य सुवासचन्द्र नेम्वाङले सबै औपचारिक तथा अनौपचारिक बैठक बन्द गरिएको बताए ।

शुक्रबार गरिएको स्वाब परीक्षणमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापमा कोरोना देखिएको थियो । यसैगरी प्रमुख सल्लाहकार विष्णु रिमाल, फोटोग्राफर राजन काफ्ले, परराष्ट्र सल्लाहकार राजन भट्टराई र प्रमुख स्वकीय सचिव इन्द्र भट्टराईमा कोरोना पुष्टि भएको थियो ।

प्रधानमन्त्रीसँग निकट रहने सबैजसोमा कोरोना पोजिटिभ देखिएपछि उनको निवास हालका लागि उच्च जोखिममा रहेको बताइएको छ । यद्यपि प्रधानमन्त्री ओलीको रिपोर्ट भने नेगेटिभ आएको नेम्वाङले बताए ।