२१ जेठ, काठमाडौं । देशभरका विभिन्न स्वास्थ्य प्रयोगशालामा गरिएको पछिल्लो परीक्षणमा थप २०१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज जनाएकोे छ ।
तीमध्ये १७९ पुरुष र २२ जना महिला छन् । यससँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या जम्मा दुई हजार ३०० पुगेको छ । यसैगरी कोरोनाका कारण दोलाखाका ७६ बर्षीय पुरुषको उपचारका क्रममा आज निधन भएको मन्त्रालयले जनाएको छ ।
हेल्थ इमर्जेन्सी घोषणाको तयारी
कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या दुई हजार नाघेसँगै ‘जनस्वास्थ्य सेवा ऐन, २०७५’ बमोजिम ‘जनस्वास्थ्य विपद् अवस्था’ आकर्षित हुने र हेल्थ इमर्जेन्सी लागु हुने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संकटकाल (हेल्थ इमर्जेन्सी) घोषणाको प्रस्ताव मन्त्रिपरिषदमा लैजाने निर्णय गरेको छ ।
विश्वव्यापी प्रक्रियाअनुसार सङ्क्रमितको सङ्ख्या र अवस्थाका आधारमा महामारीलाई स्तर निर्धारण गरिएको हुन्छ ।







