प्रदेश नं ५ का मुख्यमन्त्री पोख्रेल सवार गाडीमाथि ढुंगा प्रहार

प्रहरीद्वारा हवाई फायर, केही व्यक्ति पक्राउ

असोज, १८ काठमाडौं । काठमाडौंबाट रुपन्देही जाँदै गरेका प्रदेश ५ का मुख्य मन्त्री शङ्कर पोख्रेल सवार गाडि माथि बुटवलमा ढुंगा प्रहार भएको छ ।

प्रदेश नं ५ को राजधानी सार्ने प्रस्ताव प्रदेशसभामा सरकारले दर्ता गरेपछि पार्टीको बैठक सकिई मुख्यमन्त्री पोखरेल काठमाडौँ गएका थिए।

स्थायी राजधानी सार्न नहुने जनाउँदै नेपाली कांग्रेसले आज रुपन्देही बन्दको आह्वानसहित प्रदर्शन गरेको थियो।

मुख्यमन्त्री सवार गाडीमा रुपन्देहीका मणिग्राम, कोटिहवा र शङ्कर नगर क्षेत्रमा कालो झण्डा प्रदर्शन गरिएको नेकपाका प्रमुख सचेतक भूमीश्वर ढकालले जानकारी दिए।

अज्ञात समूहको आक्रमणबाट गाडीको सिसा फुटेको र गाडी तोडफोडपछि प्रहरीले हवाइफायर गरेको थियो।

मुख्यमन्त्री सवार गाडीसहित उनको स्कर्टिङ गर्ने दुई गाडीमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ।

प्रहरीले सो स्थानबाट केही व्यक्तिलाई पक्राउ गरेको छ।