२१ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट नेपालमा नवौं व्यक्तिको मृत्यु भएको छ । दोलाखाका ७६ वर्र्षीय पुरुषको उपचारका क्रममा आज निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
उनि यही जेठ १३ गते काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा उपचारका लागि भर्ना भएका थिए र ‘हेमोराइजिक स्ट्रोक’ देखिएपछि उनको अप्रेसन गरिएको थियो ।
साथै जेठ १५ गते स्वाब परीक्षणपश्चात कोरोना सङ्क्रमण देखिएपछि थप उपचारका उनलाई त्रिवि शिक्षण अस्पताल लगिएको थियो । योसँगै नेपालमा कोरोनाका कारण निधन हुनेको सङ्ख्या नौ पुगेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।







