बलात्कारका मुद्दामा निरन्तर सुनुवाइ गर्न सरकारी वकिललाई निर्देशन

असोज १९, काठमाडौं ।
महान्यायाधीवक्ताको कार्यालयले बलात्कारका मुद्दामा निरन्तर सुनुवाइ गर्न उच्च र सबै जिल्लाका सरकारी वकिलको कार्यालयलाई निर्देशन दिएको छ ।

आइतबार पत्र लेख्दै ‘जबरजस्ती करणीसम्बन्धी मुद्दामा लगातार सुनुवाइ प्रभावकारी बनाउन’ निर्देशन दिएको हो । कानूनमै प्रतिवादी उपस्थित हुने समय नाघेपछि लगातार कारवाही र सुनुवाइ गरी मुद्दा किनारा लगाउने व्यवस्था रहेको स्मरण गराउँदै पत्रमा सोही अनुसार गर्न भनिएको छ ।

‘जबरजस्ती करणी सम्बन्धी कसूरमा अभियोगपत्र दायर गर्दा अनिवार्य रुपमा उक्त कानूनी व्यवस्था समेत उल्लेख गरी लगातार कारवाही र सुनुवाइ हुनका लागि माग गर्न तथा सम्बन्धित सबै सरकारी वकिलहरूले सो प्रक्रियामा तदारुकता देखाउनु हुन समेत निर्णयानुसार अनुरोध गरिएको छ,’ पत्रमा उल्लेख छ ।

मुलुकी फौजदारी कार्यविधि नियमावलीमा जबरजस्ती करणीलाई लगातार सुनुवाइ हुने कसूर अन्तर्गत राखिएको छ । साथै पत्रमा जबरजस्ती करणीका मुद्दामा सात दिन भित्र प्रगति विवरण पेश गर्न समेत निर्देशन दिइएको छ ।

यस समबन्धी मुद्दाको संख्या, हाल भइरहेको कारवाही, अदालती प्रगति सात दिनभित्र महान्यायाधिवक्ताको कार्यालयलाई दिन पत्रमा निर्देशन दिइएको छ ।