कोरोना रोकथामका लागि विभिन्न दातृ निकायद्वारा सहयोग

असोज १९, काठमाडौं ।
सरकारलाई कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि अन्तर्राष्ट्रिय दातृ निकायबाट सहयोग प्राप्त गरेको छ । सरकारले जापान, स्विरजरल्यान्ड, जर्मन, विश्व बैंक, एसियाली विकास बैंक, विश्व स्वास्थ्य सङ्गठन, चीन, भारतलगायत देशबाट आर्थिक सहयोग तथा स्वास्थ्य सामग्री प्राप्त गरेको छ ।

कुनै देशले आर्थिक सहयोग र कुनैले कोभिड–१९ परीक्षण सामग्री प्रदान गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले जानकारी दिए । उनका अनुसार कुनै देशले उपलब्ध गराउने आर्थिक सहयोग अर्थ मन्त्रालयमार्फत स्वास्थ्य मन्त्रालय आइसकेको छ भने कुनै रकम आउन बाँकी रहेको छ ।

जापान सरकारले अक्सिजन मेसिन, अल्ट्रासाउन्ड मेसिन र छ वटा एम्बुलेन्स नेपाललाई प्रदान गरेको छ । यस्तै स्विस सरकारले ६० हजार पिसिआर किट, भारत सरकारले ३० हजार पिसिआर किट र २० हजार रेम्डिसिभियर खोप प्रदान गरेको छ । भारतले ३० वटा एम्बुलेन्स प्रदान गरेको पोखरेलले जानकारी दिए । यस्तै जर्मन सरकारले १३ वटा अस्पतालको फोहर व्यवस्थापनका लागि काम गरिरहेको छ ।

जनसङ्ख्या तथा समन्वय महाशाखा प्रमुखसमेत रहेका पोखरेलका अनुसार जर्मन सरकारले प्रदान गर्ने भनेको एक अर्ब रूपैयाँ आइसकेको भने छैन । अर्थ मन्त्रालयबाट उक्त रकम स्वीकृत भइरहेको उनले बताए ।

यसैगरी चीन सरकारले पनि कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न सहयोग गरेको छ । चीनले व्यक्तिगत सुरक्षा कवच (पिपिई), पिसिआर किट प्रदान गरेको छ । साथै २४ करोड रूपैयाँ दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

विश्व बैंक र एसियाली विकास बैंकले नेपाललाई सहयोग गर्ने बताएका छन् । दुवै बैंकले २०÷२० करोड रूपैयाँका दरले सहयोग गरेको मन्त्रालयले जनाएको छ । दुवै बैंकले अनुदान र ऋणका लागि उक्त रकम प्रदान गरेका हुन् । अनुदानको रकम यही डिसेम्बरसम्मका खर्च गरिसक्नुपर्ने छ ।

सरकारले गत जेठ महिनामा कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि करीब आठ अर्ब ३९ करोड रूपैयाँको हिसाब सार्वजनिक गरेको थियो । सरकारले कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि सहयोग पुर्याउन कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा विभिन्न सहयोग गर्ने व्यक्ति वा सङ्ख्याबाट करीब दुई अर्ब ७६ करोड ६९ लाख सात हजार एक सय ७७ सङ्कलन गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सूचना अधिकारी कविता फुयाँलले बताइन् ।

यस्तै विश्व स्वास्थ्य सङ्गठनले समेत नेपाललाई कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि प्राविधिक सहयोग प्रदान गर्दै आइरहेको छ । कन्ट्याक्ट ट्रेसिङ, प्रयोगशाला स्थापना, सूचना प्रविधिलगायतमा सङ्गठनले सहयोग गर्दै आइरहेको मन्त्रालयका प्रमुख विशेषज्ञ पोखरेलले बताए । सङ्गठनले सात वटा भेन्टिलेटर र केही पिसिआर रिएजेन्ट प्रदान गरेको छ ।

चीनको वुहान शहरबाट आएका विद्यार्थीमा नेपालमा पहिलोपटक २०७६ साल माघ १० गते कोरोना देखिएको थियो । नेपालमा हालसम्म ८६ हजार आठ सय २३ सङ्क्रमित फेला परेका छन् भने ६४ हजार ६९ जना निको भएर घर फर्किसकेका छन् । यसैगरी ५३५ को सङ्क्रमणबाट निधन भइसकेको छ । (रासस)