सत्याग्रहको २२ औं दिनमा कांग्रेसको २२ मिनेट धर्ना

‘केसीको माग सम्बोधन नगरे आउने दुष्परिणामको जिम्मेवारी सरकारको हुनेछ’

असोज १९, काठमाडौं ।
डाक्टर गोविन्द केसीको अनशनको २२ औं दिन सोमबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले २२ मिनेट धर्ना दिएको छ । साथै केसीका माग पुरा नभए उत्पन्न हुने दुर्घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएको छ ।

सोमबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मासहितको टोलीले केसीको अनशनस्थल शिक्षण अस्पताल महाराजगञ्जमा २२ मिनेट धर्ना दिएको थियो । कांग्रेसले उनको सत्याग्रहमा ऐक्यबद्धतास्वरुप धर्ना दिएको जनाएको छ ।

प्रवक्ता शर्माले सरकार केसीको मागप्रति गम्भीर नभएको आरोप लगाए । केसीले चिकित्सा क्षेत्र सुधारको माग राख्दै अनसन बसेको २२ दिन पुग्दा पनि वार्ताका लागि तयार नभएकोले भविष्यमा निम्तिन सक्ने दुर्घटनाको जिम्मा सरकारले नै लिनुपर्ने कांग्रेसको भनाई छ ।
प्रवक्ता शर्माले केसीका माग समयमै सम्बोधन गर्न नसके भोली उत्पन्न हुने दुस्परिणामको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने बताए । अनसनको २२ दिनमा पनि वार्ता सुरु नगर्दा लोकतान्त्रिक आवरणभित्र कम्युनिष्टतन्त्र जागृत भइरहेको शर्माको आरोप थियो ।

अधिनायकवादी आकांक्षा राखेर अगाडी बढेको सरकारले केसीका मागहरु सुनुवाई गर्न ढिलाइ गरिरहेको उनले बताए । नेपाली कांग्रेसको सरकारले गरेका निर्णय उल्ट्याउँदा अहिलेको अवस्था आएको उनको भनाइ थियो ।

आइतबार कांग्रेस सभापति शेरबहादुर देउवाले समेत डा. केसीका माग पुरा गर्न सरकारलाई अपिल गरेका थिए ।