अनुगमन टोली पुग्दा माछा पसले भागे

असोज १९, काठमाडौं ।
राजधानीको कालिमाटीस्थित माछा पसलमा अनुगमन टोली पुग्नु अगाडि नै व्यापारी पसल छाडेर भागेका छन् । सोमबार बिहान अनुगमन टोली पुगेपछि व्यापारीको भागदौड मच्चिएको थियो ।

त्यहाँका माछा पसलहरूको अनुगमनका लागि काठमाडौं महानगरको टोली पुगेको थियो । यसको जानकारी पाए लगत्तै व्यापारीहरू पसलको सटर बन्दै गर्दै भागेका हुन् ।

अनुगमन टोलीले एकातिरबाट अनुगमन थाल्दै गर्दा अर्कोतिरका १५ पसलका व्यापारी सटर तानेर भागिसकेका थिए । कालिमाटी तरकारी बजारको छेउमा २६ वटा माछा पसल छन् ।

महानगरको अनुगमन टोली बजारमा पुगेर फलफूल बजारतर्फबाट माछा पसलको अनुगमन थालेपछि मूल ढोकातर्फका १५ वटा पसलका व्यापारी सटर तानेर भागेका थिए ।

कसैले ताल्चा नै लगाउन भ्याए भने कसैले भ्याएनन् । टोलीले त्यहाँको सप्तरी माछा पसलमा भेटिएको नौ किलो सडेको माछा जफत गर्दै गर्दा अन्य व्यापारीले थाहा पाएपछि भागेका हुन् ।

अनुगमनमा पुगेका महानगरका पशु सेवा विभागका पशु सेवा अधिकृत डम्मरबहादर बलमे भने, ‘माछाको गुणस्तरमा भन्दा, खरिद–बिक्री बिल जारी नगरेकोमा व्यापारी आत्तिएका हुन् । अनुगमनका क्रममा हेरिएका पसलहरूमध्ये धेरैमा दर्ता, नवीकरण र खरिद–बिक्री बिलमा समस्या देखियो ।’

खरिद–बिक्री बिल जारी नहुँदा माछा कहिले प्याकिङ गरिएको भन्ने समेत थाहा हुँदैन । अनुगमनका क्रममा रहेका उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेनाले खरिद–बिक्री बिल जारी नहुनु नै मूल्य र गुणस्तरमा उपभोक्ता ठगिनु भएको बताए ।

काठमाडौं माछा बजार समितिका अध्यक्ष वीरेन्द्रकुमार यादवले भने आफूहरूले अनुगमनको स्वागत गरेको बताए । उनले कानून नमान्ने व्यापारीलाई आफूहरू पनि कारबाही गर्नुपर्ने भन्ने पक्षमै रहेको बताएका छन् ।