असोज १९, बाग्लुङ ।
पछिल्लो समय जिल्लामा किवी खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । बसाइँसराइ सराइका कारण बाँझो हुन थालेको जग्गामा राम्रो किबी उत्पादन थालेपछि पछिल्लो समय किबी खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ ।
वि.सं. २०५८ मा पाँच वटा किबीका बोटबाट किबीखेती शुरु गरेका बडिगाड गाउँपालिका–५ ग्वालिचौरका ५७ वर्षीय मेहरसिंह पाइजाको बारीमा अहिले ५सय किबीका बोट छन् । जसमध्ये अढाइ सय बोटमा लटरम्म किबी फलेका छन् भने बाँकी बोटमा किबी फल्ने तयारीमा छ ।
बडिगाड गाउँपालिकाका अध्यक्षसमेत रहेका पाइजाले बागलुङमा पहिलो पटक किबीखेती भित्र्याएका थिए । उनले थालेको किबीखेती सफल भएपछि बागलुङका दुई दर्जनभन्दा बढी किसानले व्यावसायिक रुपमा किबीखेती गर्दै आएका छन् ।
गलकोट नगरपालिका–१ दुदिलाभाटीका गुमानसिंह खत्री, निसीखोला गाउँपालिका–४ स्थित लीला घर्ती, बागलुङ नगरपालिका–८ सिगानाका अनन्तबहादुर खड्का, हरि जिसी, बागलुङ नगरपालिका–९ तित्याङका हीरा केसी र प्रेम केसी ताराखोला गाउँपालिका–५ का नरबहादुर रानालगायतले व्यावसायिक किबीखेती गरिरहेका छन् ।
समुद्री सहतदेखि दुई हजार ३ सय फिट अग्लो स्थानमा ५० रोपनी जग्गामा किबीसहित, सुन्तला, ओखर, स्याउ, पाउलिनिया, एबोकार्डो, कागती, अनार र हलुवावेद लगायतका थुप्रै धेरै मूल्य पर्ने फलफूलको खेती पाइजाले गरेका छन् ।
‘मलाई गाउँलेले शुरुमा बारीमा किबी लगाएको देखेर यस्तो लामो समय नफल्ने बोट लगाएर मकै, कोदो हुने बारी मास्यो, बौलायो पनि भने’, विगतका दिन स्मरण गर्दै उनले भने, ‘अहिले तिनै गाउँलेले कोदो, मकैको ठाउँमा किबीखेती गर्न थालेका छन् ।’ गाउँलेहरुमा विस्तारै व्यावसायिक कृषिको सोच विकास भएको उनको भनाइ छ ।
उनले थपे, ‘बिस्तारै कृषि पेशाप्रतिको सोच परिवर्तन हुँदै गएको छ, अहिले किबी खेतीप्रति दर्जनांै किसानको आकर्षण छ ।’ यस्तै गलकोटका किसान गुमानसिंह खत्रीले पाँच वर्ष अगाडि दुदिलाभाटीको १० रोपनी जग्गामा किबीखेती गर्दै आएका छन् ।
उनले लगाउनुभएको किबीले गत वर्षदेखि उत्पादन दिन थालेको छ । ‘पच्चीस वर्षदेखि व्यवसायिक कृषि उत्पादनमा लागे पनि किबीखेतीमा लागेको पाँच वर्ष भयो,’ खत्रीले भने, ‘व्यावसायिक कुखुरापालन, तरकारीखेती गर्दागर्दै किबीखेती तर्फ आकर्षित भएको हुँ ।’
यस वर्ष चार लाख रूपैयाँसम्म किबी बिक्रीबाटै आम्दानी गर्ने लक्ष्य राखेको उनको भनाय छ । बागलुङ नगरपालिका–८ सिगानाका अगुवा किसान अनन्तबहादुर खड्काले छ वर्षदेखि व्यावसायिक किबीखेती गर्दै आएको बताए । खड्काले लगाएको किबीखेतीले गत वर्षदेखि उत्पादन दिन थालेको छ ।
‘गत वर्ष मात्रै दुई क्विन्टल किबी बिक्री गरेको थिएँ । बगँैचा व्यवस्थापन नहुँदा भनेजस्तो उत्पादन भएन’, खड्काले थपे, ‘अहिले बगैँचा व्यवस्थापन गरेको छु । चार क्विन्टल किबी बिक्री गर्ने लक्ष्य राखेको छु ।’ उनले एक केजी किबीलाई चार सय रूपैयाँमा बिक्री गर्दै आएका छन् । हाल दुई रोपनी जग्गामा व्यावसायिक किबीखेती र आठ रोपनी जग्गामा सुन्तलाखेती गर्दै आएको उनले बताए ।
कृषि ज्ञान पर्वतका अनुसार बागलुङमा दुईवटा किबीका पकेट क्षेत्रका रुपमा रहेको उत्पादनसमेत भइरहेको छ । गलकोट नगरपालिका–१ दुदिलाभाटीमा दुदिलाभाटी किबी पकेट क्षेत्र र ताराखोला गाउँपालिका–५ मा जुल्फे किबी पकेट क्षेत्र रहेको कृषि ज्ञान केन्द्र पर्वतका सूचना अधिकारी विश्वास काफ्लेले जानकारी दिए ।
उनका अनुसार पकेट क्षेत्रमा अनुदानग्राहीमार्फत किबीका बिरुवा, किबीको थाँक्रो, बारसहित क्षेत्रफल विस्तारमा सहयोग गर्दै आएको छ । बागलुङमा झण्डै ४० हेक्टर (८ हजार) जमीनमा व्यावसायिक किबीखेती गर्दै आइएको छ । यसमध्ये २० हेक्टर जमीनमा लगाइएको किबीले उत्पादन दिन थालेको छ । बागलुङमा उत्पादन भएको किबीले पोखरा बुटवल लगाएको बजार लिइरहेको छ । (रासस)







