प्रदेशसभामा तोडफोड गर्ने सांसदलाई नेपाली कांग्रेसले कारवाही गर्ने

असोज २०, काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश नं. ५ को बैठकमा तोडफोड गर्ने सांसदलाई कारवाही गर्ने जनाएको । उक्त प्रदेशको नाम र राजधानीमाथि छलफल गर्न बोलाइएको बैठकमा सोमबार कांग्रेसका सांसदले कुर्सी तोडफोड गरेका थिए ।

आफ्ना तीन जना प्रदेशसभा सांसदलाई कांग्रेसले अनुशासनको कारवाही गर्ने बताएको छ । संसदमा तोडफोड गर्नु नेपाली कांग्रेसको सिद्धान्त र मान्यताविपरीत कार्य भएको भन्दै कांग्रेसको अनुशासन विभागले प्रदेशसभा सदस्य बसिरुद्दिन खाँ, अष्टभुजा पाठक र बैजनाथ कलवार कारवाही गर्ने भएको हो ।

सोमबार दिउँसो बुटवलमा कांग्रेस सांसदले प्रदेशसभाभित्र तोडफोडमा उत्रिएको सुन्नासाथ काठमाडौंमा पार्टी सभापति शेरबहादुर देउवा आक्रोशित बनेको एक नेताले बताए । सानेपामा सोमबार नै बस्ने भनिएको केन्द्रीय कार्यसमितिको बैठक कोरोनाका कारण बस्न नसकिरहेका बेला देउवाले केही केन्द्रीय नेताहरुसँग टेलिफोन सम्वाद गरेका थिए ।

कांग्रेसको नीति विपरीत तोडफोड गर्नेहरुलाई तत्कालै कारवाही गर्न देउवाले निर्देशन दिएको एक नेताको भनाइ छ । ‘खास गरी तीनजना सांसदको व्यवहार देखेर सभापति आक्रोशित हुनुभएको छ’ कांग्रेसका ती नेताले भने, ‘तीनै जना प्रदेशसभा सदस्यमाथि विधानको प्रक्रिया पुर्याएर कारवाही हुन्छ ।’

प्रदेश नं. ५ को राजधानी बुटवलबाट सारेर दाङको भालुवाङ तोकिँदा बुटवलस्थित प्रदेशसभामा बैठक भइरहँदा कांग्रेस सांसद खाँ, पाठक र कलवार तोडफोडमा उत्रिएका थिए । अन्य केही सांसदले पनि उनीहरुलाई साथ दिएका थिए ।

रोष्टम अगाडि उभिएर शान्तिपूर्वक नाराबाजी गर्नु स्वाभाविकै भए पनि सरकारी सम्पतिमाथि भौतिक क्षति पुर्याइनु कांग्रेसको नीति विपरीत भएको उक्त दलको भनाइ छ । यस अघि उक्त तोडफोडको घटनाको आलोचना स्वयं उक्त दलका प्रवक्ता विश्वप्रकाश शर्माले पनि गरेका थिए ।

‘संसदीय व्यवस्था कम्युनिस्टका लागि बाध्यताको, कांग्रेसका लागि रोजाईको पद्धति हो । परिमार्जित र सुसंस्कृत बनाउंदै अघि बढ्ने कर्तव्य पनि हाम्रै हो,’ शर्माले ट्वीटरमा लेखेका थिए, ‘अरुका गल्तीमा सच्याउंदै बढ्न प्रेरित गर्ने कांग्रेस आफ्नाको छिटपुट भनेर छोप्दैन,कठोरतापुर्वक सच्याएर बढ्ने सामर्थ्य राख्नेछौं !’

साथै उनले प्रदेश ५ को संसद भएको कुर्सी तोडफोड नेपाली कांग्रेसको नीति र संस्कृति विपरीत रहेको समेत उल्लेख गरेका थिए । उनले लेखेका छन्, ‘रोस्ट्रम भाँच्नेदेखि संसदीय पद्धति नै नास्छौँ भन्ने कम्युनिस्ट पार्टीहरुलाई समेत रुपान्तरण गर्ने प्रशिक्षक रहेकोे दलका सांसदलाई पार्टीको संस्कृति उलंघनको स्वायत्तता विल्कुलै दिइएको छैन ।’