चितवनमा देखियो बर्ड फ्लू, एकै खोरका ६ हजार भन्दा बढी कुखुरा मरे

असोज २०, चितवन ।
चितवनमा बर्ड फ्लु देखिएको छ । यसका कारण स्थानीय कुखुरापालकको झन्डै ६ हजार भन्दा बढी कुखुरा मरेका छन् ।

जिल्लाको केसरबागमा ‘एभियन इन्फ्लूएन्जा एच ९’ को संक्रमणबाट आइतबार यता ६ हजार भन्दा बढी कुखुरा मरेको किसानले बताएका छन् । भरतपुर–६ स्थित खगराज पाठकको खोरमा रहेका कुखुरा आइतबारदेखि मर्न थालेको उनले बताएका छन् ।

काठमाडौंस्थित केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा कुखुरामा एभियन इन्फ्लूएन्जा–एच ९ भाइरसको संक्रमण देखिएको हो । भरतपुरस्थित राष्ट्रिय पंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा शंकास्पद देखिएपछि पिसिआर परीक्षणका लागि राजधानी पठाइएको थियो ।

‘केन्द्रीय प्रयोगशालाबाट आधिकारिक रिपोर्ट सोमबार मात्रै आइपुग्यो’, भरतपुरस्थित राष्ट्रिय पंक्षी रोग अन्वेषण प्रयोगशालाका सूचना अधिकारी पशु चिकित्सक इन्दुराय यादवले भने, ‘एच ९ भाइरसको संक्रमण पुष्टि भएका कारण सतर्कता अपनाउनुपर्ने अवस्था देखिएको छ ।’

करिब १० वर्षदेखि लेयर्स कुखुरा पाल्दै आएका पाठकको खोरमा रहेका आठ हजार पाँच सय कुखुरामध्ये ६ हजार भन्दा बढी मरिसकेका छन् भने बाँकी रहेका कुखुरा पनि बिरामी छन् । उनको पोल्ट्री फार्म वरपर धेरै चराहरू पनि मरेका भेटिएको छ ।

‘नामै नजानेका नयाँ चराहरू पनि मरेको भेटिएको छ, बकुल्लाहरू पनि मरेका छन्,’ पाठकले भने, ‘खतराको अवस्था आयो ।’ कुखुरा अचानक मर्न थालेपछि पाठकले स्थानीय तह तथा सरोकारवाला संस्थाहरूलाई खबर गरेका थिए ।

सोमबार बिहान खोर नजिकै खाल्डो खनेर मरेका कुखुराहरू गाडिएको उनले बताए । ‘करिब ६ महिना अघिका चल्ला हुर्किएर अण्डा पार्न थालेका थिए’, उनले भने, ‘सबै मरेर सकिने भए ।’ उनले कुखुरा मर्दा आफूलाई करिब एक करोड रुपैयाँ घाटा भएको बताए ।

प्रयोगशालाले एस ९ भाइरसको संक्रमण पुष्टि गरे पनि पोल्ट्री व्यवसायीहरूले भने बर्ड फ्लुका कारण कुखुरा मरेको दाबी गर्दै रिपोर्ट लुकाउने प्रयास गरिएको आरोप लगाएका छन् ।

बर्ड फ्लु(एच ५) पंक्षीबाट मान्छेमा पनि सर्ने खतरानक भाइरस हो । तर एच ९ भने मान्छेमा सर्दैन ।

पंक्षीबाट पंक्षीमा भने बर्ड फ्लु सरह नै फैलन्छ । यो भाइरसको संक्रमणले कुखुराले अण्डा कम पार्ने, कुखुरा झोक्राउने, घ्यार–घ्यार गर्ने समस्या देखिन्छ । अनि बिस्तारै कुखुरा मर्न थाल्छन् ।

अहिलेसम्म यो भाइरसको औषधि पत्ता लागेको छैन । ‘कुखुराको रोग प्रतिरोधात्मक क्षमता बढाउने एक मात्र उपाय हो’, पशु चिकित्सक यादवले भने ।

बर्ड फ्लु लाग्यो भने अन्यत्र रोग नफैलियोस् भनेर सरकारले निश्चित क्षेत्रका कुखुरा र घरमा पालेका चरा नष्ट गर्छ, सो बापतको राहत सरकारले उपलब्ध गराउँछ । तर अन्य रोगका लागि त्यस्तो व्यवस्था गरिएको छैन ।

भरतपुरस्थित भेटनरी अस्पताल तथा पशुरोग विज्ञ केन्द्रका प्रमुख डाक्टर दयाराम चापागाईंका अनुसार एभियन इन्फ्लूएन्जाको एच ९ भाइरस पंक्षीमा लाग्ने खतरनाक रोगहरू मध्येको एक हो ।

यस भाइरसको संक्रमणबाट विगतमा पोल्ट्री व्यवसायले ठूलो क्षति व्यहोर्नुपरेको छ । २०७५ सालमा मकवानपुरको कमाने क्षेत्रमा यो भाइरसको संक्रमण फैलँदा कुखुरा मरेर सबै खोरहरू खाली भएका थिए ।

करिब तीन वर्ष अघि चितवनमा पनि यही भाइरसको संक्रमणले ठूलो क्षति पुगेको थियो । त्यसयता एच ९ भाइरसको संक्रमण फाट्टफुट्ट देखिए पनि यति धेरै क्षति भने नभएको डा.चापागाईंले बताए ।

विगतमा फागुन, चैत महिनामा संक्रमण बढी देखिने गरेकोमा पछिल्लो समयमा जुनसुकै महिनामा पनि देखिन थालेको उनले बताए ।

‘खोर वरपर अन्य चराहरू पनि मरेका रहेछन्, विदेशबाट आएका चराहरूबाट संक्रमण सरेको पनि हुन सक्छ’, उनले भने भने, ‘भाइरसलाई फैलन नदिन जैविक सुरक्षामा ध्यान दिँदै उच्च सतर्कता अपनाउनुपर्छ ।’

भरतपुरस्थित राष्ट्रिय पंक्षी रोग अन्वेषण प्रयोगशालाको पिसिआर मेसिनमा हाल कोरोना भाइरसको परीक्षण गर्ने गरिएको छ । त्यसकारण चितवनमा कुखुरामा गम्भीर समस्या देखिए नमूना परीक्षणका लागि काठमाडौं पठाउनुपर्ने अवस्था छ । ल्याबका अन्य मेसिनहरूले भने पहिले जस्तै काम गरिरहेका छन् ।

यादवका अनुसार कुखुरामा सालमोनेला, इकोलाई, सिआरडी, टक्सीसीटी, गाउत लगायतका रोगहरू भने प्रायः देखिने गरेको छ । ‘तर यी महामारी निम्त्याउने रोग होइनन्’, यादवले थपे, ‘एस ९ को नियन्त्रणमा सतर्क भएन भने चाहिँ कुखुरामा महामारी देखिन पनि सक्छ ।’