व्यवसायीका आकर्षक प्याकेज, बिस्तारै बढ्दै पर्यटक

असोज २०, काठमाडौं ।
देशका विभिन्नण् पर्यटकीय गन्तव्यमा आन्तरिक पर्यटकको चहपहल सुरु भएको छ । विशेषगरी उपत्यका बाहिरका पर्यटन व्यवसायीले नयाँ नयाँ प्याकेज ल्याएसँगै पर्यटकको संख्या बढ्न थालेको बताएका छन् ।

कोरोनाको कारण ६ महिना लामो गतिरोधपछि व्यवसायीले छुटका आकर्षक प्याकेजहरू सार्वजनिक गरेसँगै चहलपहल बढ्न थालेको हो । पोखरा, सौराहा र धुलिखेल लगायत विभिन्न गन्तव्यका होटल–रिसोर्टहरूले कोठामा र खानामा आकर्षक छुट सुविधासहितका प्याकेज सार्वजनिक गरेका छन् ।

यसले गर्दा काठमाडौंबाट ती गन्तव्यमा आन्तरिक पर्यटक पुग्ने क्रम बढेको छ । एक सातायता पोखरामा आन्तरिक पर्यटकको चहलपहल बढेको क्षेत्रीय होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनले बताए । ’पोहोरको जस्तो त होइन तर शून्य हुन पाएन । आन्तरिक पर्यटक आउन थालेका छन्,’ उनले भने, ’ठूलो मास छैन, फाट्टफुट्ट आएका नेपालीले होटल रेस्टुरेन्ट चलाउन टेवा पुर्याएका छन् ।’

कोरोना संक्रमण रोकथामका लागि चैत ११ देखि बन्द रहेका सभा, सम्मेलन र शैक्षिक संस्थाका भ्रमण लगायतका गतिविधि अझैसम्म ठप्प छन् । पोखराको पर्यटकीय क्षेत्रलाई पूरै शून्य हुनबाट आन्तरिक पर्यटकले जोगाएका छन् ।

’अफिसियल काममा आउने र पुनर्ताजगीका लागि आउनेहरू लेकसाइडमा देखिएका छन्,’ अध्यक्ष तुलाचनले भने, ’संक्रमणको प्रभाव घट्यो भने दसैंतिहारमा पर्यटकको आगमन बढ्दै जाने आशा लिएका छौं।’

व्यवसायलाई गति दिनका लागि पोखरामा रहेका विभिन्न स्तरका होटलले कोठामा ६० प्रतिशत र खानामा २० प्रतिशतसम्म छुट दिने आकर्षक प्याकेज सार्वजनिक गरेको उनले जानकारी दिए । व्यवसायीका अनुसार पोखराका होटलमा यतिखेर १० देखि १५ प्रतिशत अकुपेन्सी कायम भइरहेको छ ।

त्यहाँ पछिल्लो समय लेकसाइड, पामे, बेगनास ताल लगायत क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको व्यवसायीले बताएका छन् । मुस्ताङ, अन्नपूर्ण आधार शिविर र थोराङ्ला पास ट्रेकिङका लागि जानेहरू बढ्दा पोखराले उल्लेख्य पर्यटक पाउँछ ।

तर ट्रेकिङका गतिविधि सुचारू भइसकेका छैनन् । ट्रेकिङ एजेन्सीहरूले इन्क्वायरीहरू आउन थालेको जनाएका छन् । पदयात्राका लागि विदेशीहरू नेपाल आउने क्रम सुरू भएसँगै चहलपहल थपिने पर्खाइमा पर्यटन व्यवसायी छन् ।

होटल–रेस्टुरेन्टहरूले बिदा दिएका कर्मचारी फिर्ता बोलाउन थालेका छन् । स्वास्थ्य सुरक्षाको प्रबन्धसहित रेस्टुरेन्टहरू खुलेका छन् । सार्वजनिक यातायातका तुलनामा निजी गाडी लिएर आउने आन्तरिक पर्यटक पोखरा र सौराहामा देखिएको व्यवसायीको भनाइ छ ।

आन्तरिक पर्यटक रिझाएर व्यवसायिक गतिविधि बढाउन सौराहाका होटल–रिसोर्टले २५ प्रतिशतसम्म छुटको प्याकेज सार्वजनिक गरेका छन् । आन्तरिक पर्यटकको चहलपहल क्रमिक रुपमा बढ्दै गएको क्षेत्रीय होटल संघ चितवनले जनाएको छ ।

विभिन्न ठाउँबाट सौराहा आउने आन्तरिक पर्यटकको संख्या बिस्तारै बढ्न थालेको संघका अध्यक्ष दीपक भट्टराईले बताए । उनका अनुसार यतिखेर सौराहामा करिब १५ प्रतिशत अकुपेन्सी कायम भएको छ ।

’बन्दाबन्दी खुला भएसँगै सौराहामा दुई प्रतिशतभन्दा कम अकुपेन्सी थियो । तुलनात्मक रूपमा अकुपेन्सी बढेको छ,’ उनले भने, ’यो वर्षको अवस्था हेर्दा पोहोर जस्तो व्यापार पक्कै हुँदैन । तैपनि आन्तरिक पर्यटक आउने क्रम बढ्दा होटल रेस्टुरेन्ट बन्द राख्नु पर्दैन । छिटपुट भए पनि व्यापार हुन्छ भन्ने ठानेका छौँ ।’

सौराहाका होटल–रिसोर्टहरूले सामाजिक दुरी कायम गरेर सानातिना सभा सम्मेलनका लागि सेवा दिन सुरु गरिसकेको उनले बताए । ’दसैंतिहार नजिकिँदै गर्दा बर्सेनि यो समय सौराहा क्षेत्र पर्यटकले खचाखच हुन्थ्यो । त्यो सम्झेर योपल्ट अवस्था उत्साहजन छैन । संसारभर नै पर्यटन व्यापारको यही अवस्था हो, हामीले मात्रै आत्तिएर के गर्नु?’ उनले भने, ’आन्तरिक पर्यटक भए पनि फाट्टफुट्ट आउन थालेकाले व्यापार धेरै नभए पनि शून्य चाहिँ हुँदैन भन्ने आश गर्दैछौं ।’

काठमाडौं उपत्यकाको नजिकको गन्तव्य धुलिखेलमा पनि आन्तरिक पर्यटकको चहलपहल सुरु हुन थालेको क्षेत्रीय होटल संघ धुलिखेलका अध्यक्ष प्रेमकण्ठ श्रेष्ठले बताए । ’होटलहरुमा पाहुना आउन थाले । कोरोनाको डर नहटेसम्म व्यवसायीले चाहेको जस्तो व्यापार पक्कै हुँदैन । तर आन्तरिक पर्यटक आउन थाल्दा आशा जागेको छ,’ उनले भने ।

उनका अनुसार यतिखेर धुलिखेलका होटलमा १५ देखि २० प्रतिशत अकुपेन्सी कायम हुन थालिसकेको छ भने अग्रिम बुकिङले पनि गति लिन सुरु गरिसकेको छ । पर्यटकीय गतिविधि थप चलायमान बनाउनका लागि संघले आउँदो बुधबारदेखि आकर्षक प्याकेज सार्वजनिक गर्ने तयारी गरिरहेको उनले बताए ।

कोरोना संक्रमितको ग्राफ उकालो लाग्दै गएको अवस्था देखेर सरकारले फेरि लकडाउन गर्न सक्ने आशंकाले धेरै व्यवसायीलाई अझै दोधार छ । खोल्नेबित्तिकै पुनः बन्द गरिहाल्नुपर्ने अवस्था आउन नदिन आआफ्ना संघसंस्थामार्फत सरकारलाई आग्रह गर्दै उनीहरूले व्यवसाय सञ्चालनमा ल्याएका छन् ।