असोज २१, काठमाडौं ।
बंगलादेशबाट नेपालले पैंचोमा ल्याउन लागेको युरिया मल आइपुग्न समय लाग्ने देखिएको छ । नेपालसम्म मल ल्याउन ठेक्का दिएको युएइ नामक कम्पनी हालसम्म पनि सम्झौता गर्न आएको छैन ।
यसै कारण मल आउन अझै केही समय लाग्ने देखिएको छ । झन्झटिलो टेण्डर प्रक्रियाका कारण मल आइपुग्ने मिति अझै एकिन हुन नसकेको कृषि सामग्री कम्पनी लिमिटेडको भनाइ छ ।
बंगलादेशबाट मल ल्याउनका लागि छोटो ग्लोबल टेण्डर गरिएको भनिए पनि प्रक्रिया अझै सकिएको छैन । एक साताको समय दिएर आह्वान गरिएको टेण्डर यूएईको डेनट्रेड यूएई नामको कम्पनीले हात पारेको छ । तर सम्झौता गर्न कम्पनी नआएको कृषि सामग्री कम्पनीले जनाएको छ ।
टेण्डरका लागि आवेदन दिएका पाँच कम्पनीमध्ये सबैभन्दा कम ८२.२४ डलर प्रतिमेट्रिक टनमा मल ल्याउने गरी उक्त कम्पनीको आवेदन परेको थियो । ठेक्का सम्झौता गर्न आगामी शुक्रबारसम्मको म्याद रहेको कम्पनीका प्रबन्धक नेत्रबहादुर भण्डारीले बताए । ‘शुक्रबारसम्म ठेक्का सम्झौता हुने छ र कम्पनीले एलसी खोलेको बढीमा ७० दिनभित्र मल आइपुग्ने छ,’ भण्डारीले भने ।
ढिलामा मंसिरको पहिलो सातासम्म मल आइपुग्ने र यसले तोरी तथा गहुँका लागि वितरण गर्न पुग्ने भण्डारीले बताए । कात्तिकमा छरेको गहुँ र तोरीलाई मंसिरमा र मंसिरमा छरेकोलाई पुसमा हाल्न युरिया मलको अभाव नहुने उनले दाबी गरे ।
एक महिना अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशकी समकक्षी शेख हसिनासँग नेपाललाई खाँचो परेको भन्दै ५० हजार मेट्रिकटन मल पैंचा मागेका थिए । बंगलादेशकी प्रधानमन्त्रीले सकारात्मक जवाफ दिएको प्रधानमन्त्री ओलीले सोही दिन ट्वीटरमार्फत जानकारी दिएका थिए ।







