असोज २१, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अनशनरत डाक्टर गोविन्द केसीसँग वार्ता सुरु गरिएको बताएका छन् । अनसन बसेको २३ दिनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले चासो दिँदै केसीका माग सम्वोधन गर्न सरकारले वार्ता सुरु गरेको बताएका हुन् ।
मंगलबार अपरान्ह बालुवाटारमा आयोजित नेकपा सचिवालय बैठकमा नेकपाका नेताहरुले डा. केसीको जीवनरक्षा बारे चासो राखेका थिए । सोही क्रममा ओलीले केसीका माग पूरा गर्न सरकारले वार्ता सुरु गरेको जवाफ दिएका हुन् ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को मंगलबार अपरान्ह बसेको सचिवालय बैठक अनशनरत डा.गोविन्द केसीमाथि बढी केन्द्रीत भएको एक नेताले बताए । सचिवालय सदस्यहरूले केसीको जीवनरक्षाबारे सरकारले ठोस कदम चाल्नुपर्ने कुरा उठाएका थिए ।
‘अरु विषयमा सामान्य कुरा मात्रै भयो । तर, बैठक लगभग डा.केसीबारे नै केन्द्रित हुन पुग्यो’, एक सचिवालय सदस्यले भने । प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीले सरकारले गर्नुपर्ने पहल गरिरहेको जवाफ दिएका थिए । प्रधानमन्त्री ओलीले बैठकमा भने, ‘शिक्षा सचिवलाई कुरा गर्न पठाएको छु, उहाँले पनि धेरै जिद्दी गर्नु भएन ।’
सचिवालय बैठकमा नेताहरुले केसीबारे आवाज उठाउनुभन्दा केही घण्टाअघि मात्रै प्रधानमन्त्री ओलीले शिक्षा सचिव गोपीनाथ मैनाली नेतृत्वको तीन सदस्यीय टोलीलाई डा. केसीसँग भेट्न अस्पताल पठाएका थिए ।
बैठकपछि सचिवालयका एक सदस्यले भने, ‘प्रधानमन्त्री पनि डा.केसीको मागमा सकारात्मक देखिनुभयो । डा.केसीसँग आजै सरकारका तर्फबाट वार्ता भएको प्रधानमन्त्रीले बैठकलाई जानकारी गराउनुभयो ।’
सचिवालय बैठक अगाडि बरिष्ठ नेता माधवकुमार नेपालले डा.केसीको जीवन रक्षा गर्नुपर्ने प्रतिक्रिया दिएका थिए । मंगलबारको बैठकमा सहभागी नेताहरुले सहजकर्तालाई प्रयोग गरेर भए पनि समस्या समाधान गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको ती नेताले बताए ।
विभिन्न ६ बुँदे माग राख्दै डा.केसी २२ दिनदेखि अनशनरत छन् । १९औं पटक अनशन बसेका डा. केसीले यसपटक विकट क्षेत्रमा चिकित्सा शिक्षासहित कोरोना संक्रमणबाट नागरिकको जीवन रक्षा गर्न पनि माग गरेका छन् ।
उनी अनसन बसेको २३ दिन पछि बल्ल सरकारले चासो दिन थालेको हो । भदौ २९ मा जुम्लाबाट अनशन थालेका केसी अहिले त्रिभुवन शिक्षण अस्पतालमा अनशनरत छन् । उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको भन्दै दिनहुँ सडक प्रदर्शन समेत भइरहेका छन् ।







