मन्त्री फेरबदलको विषयले सचिवालय बैठकमा प्रवेश पाएन

असोज २१, काठमाडौं ।
मंगलबार मध्यान्ह बसेको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टि (नेकपा)को सचिवालय बैठकमा मन्त्रीपरिषद् पुनर्गठनको विषयले प्रवेश पाएको छैन । लामो समयदेखि उक्त दलका दुवै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीबीच मन्त्री फेरबदल गर्ने कुराबारे छलफल भइरहे पनि यस विषयले बैठकमा प्रवेश पाएको छैन ।

धेरैको चासो रहेको मन्त्रिपरिषद् पुनर्गठनबारे प्रधानमन्त्रीका तर्फबाट बैठकमा कुनै प्रस्ताव नै पेश भएन । असोज ४ को सचिवालय बैठकले नै मन्त्रिपरिषद् पुनर्गठनको जिम्मा दुई अध्यक्षलाई दिएकाले यसबारे छलफल नभएको सचिवालयका एक नेताले बताए ।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि दुई अध्यक्ष यसबारे गृहकार्यमै रहेकाले मन्त्रिपरिषदबारे छलफल नभएको बताएका थिए । भदौ २६ को स्थायी कमिटीले गरेको निर्णयअनुसार, मन्त्रिपरिषद् पुनर्गठनबारे नेकपामा लगातार छलफल भइरहेको छ । सोमबार दिउँसो पनि दुई अध्यक्ष ओली–प्रचण्डबीच मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएको थियो ।

संवैधानिक तथा राजनीतिक नियुक्तिबारे पनि सचिवालयमा सामान्य छलफल मात्रै भयो । अनशनरत डाक्टर गोविन्द केसीबारे नै बैठक केन्द्रित भएकाले सरकारले गरेका निर्णयहरुबारे सामान्य छलफल मात्रै भएको थियो ।

नियुक्तिहरूबारे अर्को बैठकमा छलफल हुने गरी सचिवालय बैठक टुंगिएको एक नेताले बताए । तर, अर्को बैठकको मिति भने तोकिएको छैन ।

गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वअर्थमन्त्री युवराज खतिवडालाई अमेरिकाको राजदूत नियुक्ति गरेपछि नेकपाभित्र असन्तुष्टि देखिएको छ । यही असन्तुष्टिपछि सचिवालयको बैठक डाकिएको हो ।