असोज २१, टीकापुर ।
टीकापुर नगरपालिकाका समाजसेवी कुमारराज शाहीले एक बिघा भन्दा बढी जग्गा विद्यालयका नाममा दान गरेका छन् । वडा नं. ६ बस्ने शाहीले विभिन्न विद्यालयलाई गरी एक बिघा भन्दा बढी जग्गादान गरेका हुन् ।
उनले टीकापुर–६ वडा कार्यालयलाई उच्च घर निर्माणका लागि भगवानपुरस्थित दुई कठ्ठा एक धुर जग्गा दिएका थिए । ‘वहाँले जग्गादान गरेपछि बाढीपीडितका लागि उच्च घर निर्माण शुरु भएको छ’, वडाध्यक्ष बलिराम चौधरीले भने, ‘उच्च घर निर्माण आवश्यक थियो तर जग्गा अभाव थियो । आफ्नो ठाउँको विकास र समस्या समाधान गराँै भन्ने भावनाकाका साथ वहाँले जग्गा दिएपछि भवन निर्माण भइरहेको छ ।’
शाहीले सोही जग्गासँगै रहेको १० धुर जग्गा विद्युत् सहकारीको भवन निर्माण र शिवमन्दिरका ट्रष्ट निर्माणका लागि समेत दान गरेका छन् । भगवानपुरस्थित शाहीको सो जग्गा १४ लाख रूपैयाँ बराबरको रहेको बताइएको छ ।
उनले यसअघि पनि थुप्रै सङ्घसंस्था र विद्यालयलाई जग्गा उपलब्ध गराउँदै आएका छन् । विसं २०५६ मा ज्ञानोदय आधारभूत विद्यालय नुक्लीपुरलाई चार कठ्ठा, खड्ग प्रावि भगवानपुरलाई चार कठ्ठा जग्गा दिएपछि यी विद्यालय स्थापना भएका हुन् ।
‘शाहीले २०६५ मा सत्ती प्रहरी चौकीको भवन निर्माणका लागि १० कठ्ठा जग्गा उपलब्ध गराएपछि प्रहरी चौकी भवन बनेको हो’, स्थानीय परशुराम महतोले भने, ‘हाल प्रहरी चौकी उहाँले उपलब्ध गराएको जमिनमा छ । जहाँ–जहाँ समस्या र आवश्यकता भयो त्यहाँ वहाँले सहयोग गर्नुभएको छ ।’ उनले करोडौं मूल्यका जग्गा मात्र नभइ समुदायमा अन्य सहयोग पनि गर्दै आएको महतोले बताए ।
शाहीले गरिब तथा मुक्त कमैयाका छोराछोरीको अध्ययनका लागि समेत सहयोग गर्दै आएका छन् । ‘हरेक वर्ष सहयोग पठाउनुहुन्छ’, महतोले भने, ‘कति विद्यार्थीको शूल्क, कापी किताब उहाँले पठाएको रकमले मैले किनिदिएको छु । गरिब र असहाय परिवारलाई आर्थिक सहयोगसमेत गर्दै आउनुभएको छ ।’
शाहीले समुदायको आवश्यकतानुसार थोरै–थोरै जग्गा सहयोग गरेको बताए । ‘समस्या परेका बेला आफूसँग भएको थोरै जमिन सामाजिक विकासमा लगाउने सोच बनाएको हुँ’, उनले भने, ‘विकासमा बाधा नहोस् भनी सक्दो गरेँ ।’






