असोज २१, काठमाडौं ।
पूर्व सभामुख कृष्ण बहादुर महराले साबिकको प्रदेश नं. ५ को राजधानी र नाम तोकिएकोमा प्रदेशवासीलाई शुभकामना दिएका छन् । मंगलबार प्रदेशसभाको बहुमतबाट राजधानी दाङको देउखुरी र प्रदेशको नाम लुम्बिनी तोकिएको थियो ।
मंगलबार सामाजिक सञ्जालमा एक पोस्ट लेख्दै उनले भनेका छन्, ‘ प्रदेशसभाबाट प्रदेश नं. ५ को स्थायी राजधानी राप्ती उपत्यका देउखुरी र प्रदेशको नाम लुम्बिनी राख्ने प्रदेश सरकारको प्रस्ताव दुई तिहाई बहुमतबाट पारित भएको छ । यस खुसीको अवसरमा लुम्बिनी प्रदेशवासी समस्त दिदीबहिनी तथा दाजुभाईहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।’
स्थायी राजधानी र नामकरणका लागि प्रस्ताव गर्ने प्रदेश सरकार तथा यसका लागि पहलकदमी लिने राजनीतिक दल एवं नेतालाई समेत उनले धन्यवाद ज्ञापन गरेका छन् । हाल तोकिएको प्रदेश राजधानी सबैलाई पायक पर्ने र संघीयताको मर्म अनुसारको भएको उनको भनाइ छ ।
आफूहरूले अस्थायी राजधानी तोक्ने बेला नै उक्त प्रदेशको राजधानी दाङ राख्ने प्रयास गरेको स्मरण गर्दै उनले प्रदेशसभाको यस निर्णयलाई ‘संघीयता कार्यान्वयनको कार्यमा अर्को ईँट्टा थपिएको’ भनी टिप्पणी गरेका छन् ।







