असोज २१, जुम्ला ।
सिञ्जा क्षेत्रमा बृहत चिस्यानघर (कोल्डस्टोर) बनाइदिन स्थानीयवासीले माग गरेका छन् । कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री विमला केसी मन्त्रालयबाट सञ्चालित योजना अनुगमन गर्न जुम्लाको सिञ्जा क्षेत्रमा पुग्दा स्थानीयले यस्तो माग गरेका हुन् ।
मन्त्री केसीले प्रत्यक्ष योजनास्थलमा पुगेर किसानसँग छलफल गरेकी छिन् । कृषि क्षेत्रका समस्या र समाधानका विषयमा नागरिकको परामर्श लिने क्रममा नराकोट पुगेकी कृषिमन्त्री केसीलाई स्थानीयले चिस्यानघर निर्माण गरिदिन आग्रह गरेका थिए ।
पहिलोपटक कृषिमन्त्री घरदैलोमा पुगेकामा खुशी व्यक्त गर्दै स्थानीय नन्दराम रोकायाले यस क्षेत्रमा चिस्यानघर भएको भए बेमौसममा पनि स्याउले बजार पाउने बताएका थिए । उनले भने, ‘यो क्षेत्र कृषि उत्पादनका लागि उर्वरभूमि हो । सिजनमा सबै कृषकले एकैपटक बिक्री वितरण गर्दा बजार पनि नपाइने र त्यसले मूल्य पनि नपाउने भएकाले यस क्षेत्रमा बृहत कोल्डस्टोरको आवश्यकता परेको हो ।’
सिञ्जा क्षेत्रमा चार गाउँपालिका छन् । यहाँ आलु प्रशस्त उत्पादन हुन्छ । स्याउखेतीको प्रबल सम्भावना छ तर, भण्डारण गर्ने स्थान छैन । स्थानीय गोपाल रोकायाको भनाइमा, ‘स्थानीय वस्तु सङ्कलनका लागि विशाल भण्डारणकक्ष निर्माण भयो भने यहाँको खाद्यवस्तु बेचेरै किसान समृद्ध हुन सक्छन् ।’
यहाँ स्याउ भण्डारण गर्न नसक्दा भारतको स्याउ महङ्गोमा किनेर खानुपरेको उनको अनुभव छ । आलु, स्याउ जम्मा गरे पनि बेच्ने ठाउँ छैन । यहाँको उपज कुहिएर जान्छ । उनले भने, ‘कोल्डस्टोर र कृषि विश्वविद्यालय स्थापना हुनसकेको खण्डमा कृषि क्षेत्रमा आत्मनिर्भर हुने देखिन्छ ।’
मन्त्री केसीले कृषि क्षेत्रमा जनताको लगाव निकै प्रशंसनीय रहेको बताइन् । ‘कृषि विश्वविद्यालय र कोल्डस्टोर निर्माणका लागि छलफल थाल्छौँ,’ उनले भनिन् । रैथानेबाली प्रवद्र्धन गर्दै उत्पादन बढाउन किसानलाई उनले आग्रह समेत गरिन् । मन्त्री केसीले कालिकोटको सिमाना नाग्मबजार हुदै सिञ्जा गाउँपालिकाको नराकोटसम्म र गुठीचौर, पातारासी र चन्दननाथ नगरपालिकामा सञ्चालित योजनाको अनुगमन गरेकी छिन् ।







