वन्यजन्तु र मानिसबीच द्वन्द्व घट्दो

तीन वर्षमा वन्यजन्तुको आक्रमणबाट ३६ को मृत्यु

असोज २१, चितवन ।
चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत मध्यवर्ती क्षेत्रका बासिन्दा र वन्यजन्तुबीच द्वन्द्व घट्दै गएको तथ्यांकले देखाएको छ । निकुञ्जले उपलब्ध गराएको तथ्याङ्कानुसार यस क्षेत्रमा मानव–वन्यजन्तु द्वन्द्व घट्दै गएको हो ।

निकुञ्जबाट निस्कने बाघ, हात्ती, गैँडा, गोही, बँदेल, भालुलगायत जङ्गली जनावरले आक्रमण गर्दा पछिल्लो तीन वर्षमा ३६ जनाले ज्यान गुमाएका छन् । पछिल्लो तीन वर्षको अवधिमा जनावरको आक्रमणबाट आर्थिक वर्ष २०७५÷७६ मा सबैभन्दा बढी मानवीय क्षति भएको छ । सो अवधिमा वन्यजन्तुको आक्रणमा परी २२ जनाको मृत्यु हुनुका साथै एक सय २० घाइते भएका थिए ।

निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी अशोक रामका अनुसार आव २०७४÷७५ मा वन्यजन्तुको आक्रमणबाट पाँचको मृत्यु तथा ३२ जना घाइते भएका थिए । त्यस्तै आव २०७६÷७७ मा वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या नौ तथा घाइतेको सङ्ख्या ३४ रहेको उनको भनाइ छ ।

राष्ट्रिय निकुञ्जबाट जनावर सजिलै मध्यवर्ती क्षेत्रमा प्रवेश गर्ने र मानिससँग भेट हुँदा उनीहरुले आक्रमण गर्ने गरेका छन् । मानव–वन्यजन्तु द्वन्द्व बढेपछि यसको नियन्त्रणका लागि निकुञ्जले मध्यवर्ती क्षेत्रमा करेन्टको झट्का तथा मेसजाली लगाउन थालेको छ ।

‘निकुञ्जका जनावर बस्तीमा प्रवेश रोक्नका लागि सबैभन्दा प्रभावकारी आरसिसी पर्खाल भएको छ’, सूचना अधिकारी रामले भने, ‘यो धेरै खर्चिलो भएकाले निकुञ्जले मेसजाली तथा झट्का लगाउनु सजिलो देखिएको छ ।’ विद्युतीय झट्काबाट वन्यजन्तुलाई क्षति नहुने भन्दै उनले त्यो विद्युतीय झट्का नाघेर जनावर बस्तीमा पस्न नसक्ने बताए ।

करिब छ करोड राहत वितरण
निकुञ्जका जनावरबाट हुने मानवीय क्षतिका लागि वर्षेनी राहत प्रदान गरिँदै आएको सूचना अधिकारी रामले बताए । उनका अनुसार पछिल्लो तीन वर्षमा जनावरका कारण मृत्यु भएका तथा घाइते भएका व्यक्तिको परिवारलाई करिब छ करोड रूपैयाँ राहत प्रदान गरिएको छ । आर्थिक वर्ष २०७४÷७५ देखि २०७६÷७७ सम्म वन्यजन्तुको आक्रमणबाट भएको मानवीय क्षतिवापत निकुञ्जले पाँच करोड ९० लाख ९६ हजार ६ सय ४४ रूपैयाँ प्रदान गरेको छ ।

२०७४÷७५ मा मृत्यु भएका पाँच जनाको परिवारलाई प्रतिपरिवार १० लाखका दरले ५० लाख रूपैयाँ राहत उपलब्ध गराइएको थियो । त्यस्तै निकुञ्जका जनावरबाट घाइते भएका व्यक्तिको उपचार खर्चसमेत निकुञ्जले व्यहोर्दै आएको छ । उक्त वर्षमा जनावरबाट घाइते भएका ३२ व्यक्तिको उपचार खर्चवापत २२ लाख २४ हजार चार सय ५० रूपैयाँ उपलब्ध गराइएको छ ।

जङ्गली जनावरको आक्रमणबाट व्यक्तिको मृत्यु भएमा १० लाख तथा घाइते भएमा उपचार खर्च निकुञ्जले उपलब्ध गराउँदै आएको छ । आव २०७५÷७६ मा जङ्गली जनावरका आक्रमणबाट मृत्यु भएका २२ जनाको परिवारलाई निकुञ्जले राहतस्वरुप दुई करोड २० लाख रूपैयाँ उपलब्ध गराएको छ । त्यस्तै घाइते भएका व्यक्तिको उपचार खर्चवापत एक करोड ११ लाख ९५ हजार पाँच सय १६ प्रदान गरिएको रामको भनाइ छ ।

अघिल्लो आव २०७५÷७६ मा भन्दा गत आव २०७६÷७७ मा मानव–वन्यजन्तु द्वन्द्व घटेको तथ्याङ्कले देखाएको छ । निकुञ्जको जनावरबाट हुने क्षति घटेसँगै राहत रकमसमेत घटेको छ । गत वर्ष जनावरबाट मृत्यु भएका नौ जनाको परिवारलाई ९० लाख तथा घाइते भएका ३४ जनाको उपचार खर्चवापत छ लाख ७६ हजार ६ सय ७८ रूपैयाँ प्रदान गरिएको छ ।

सबैभन्दा बढी क्षति चितवनमा
निकुञ्जको जनावरका कारण सबैभन्दा बढी क्षति चितवनमा भएको छ । निकुञ्जबाट निस्किएका जनावरले आक्रमण गर्दा मृत्यु हुने ३६ मध्ये ३४ वटा घटना चितवन जिल्लाको तथा दुई घटना नवलपरासीको भएको निकुञ्जले जनाएको छ ।

त्यस्तै घाइते भएका दुई सय ५६ मध्ये दुई सय १२ वटा चितवन, ३६ नवलपरासी, तीनवटा मकवानपुर, दुईवटा सर्लाही र एउटा पर्सामा भएका घटना हुन् । चालू आर्थिक वर्ष २०७७÷७८ को तीन महिनामा चितवन निकुञ्जबाट निस्किएको बाघको आक्रमणले तीन जनाको मृत्यु भइसकेको छ ।

मृत्यु भएका तीनै जना चितवनका हुन् भने जङ्गलमा घाँस काट्ने जाने क्रममा उनीहरुलाई बाघले आक्रमण गरेको थियो । यस अवधिमा ज्यान गुमाउनेको परिवारलाई राहतबापतको रकम भुक्तानी गर्न प्रक्रिया सुरु भइसकेको छ । (रासस)