असोज २१, बैतडी ।
नेपाल–भारत सीमानाका बैतडीको झुलाघाटका व्यापारीले सीमानाका खोल्नुपर्ने माग गरेका छन् । नेपालतर्फका अधिकांश व्यापारीको बसाइ भारतीय बजारमा हुने भएकाले नाका बन्द हुँदा उनीहरु पारि नै अड्किएका छन् ।
लकडाउन खुले पनि नाका नखुल्दा आफूहरु पारि रहनुपर्दा व्यापार र व्यवसाय सञ्चालन गर्न नपाएको उनीहरुको गुनासो छ । नाका नखुल्दा व्यापारी वारि आउन नपाएको झुलाघाट बजार व्यवस्थापन समितिका अध्यक्ष लवदेव जोशीले बताए ।
‘नाका बन्द भएपछि वारिका २५ व्यापारी पारि अड्किएका छन्,’ उनले भने, ‘लामो समयदेखिको लकडाउनले बिक्रीका लागि राखिएको सामान बिग्रिसकेको छ । एक दुई दिनका लागि भए पनि सीमापारि अड्किएका व्यापारीलाई वारि आउने वातावारण मिलाइदिएको राम्रो ।’
आफ्ना समस्याप्रति सरकार गम्भीर नभए आफूहरू अनसन बस्नेसमेत उनीहरुले चेतावनी दिएका छन् । यता बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले नाका खुलाउनका लागि सरकारले नै निर्णय गर्नुपर्ने बताए ।
उनले भने, ‘अन्तर्राष्ट्रिय नाका भएकाले पहिला नेपाल सरकारले निर्णय गर्नुपर्ने त्यसपछि दुई देशको सहमतिमा नाका खुल्नेछ ।’ नाका खोलिदिन भन्दै सरकारलाई आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।







