असोज २१, सिन्धुली ।
जिल्ला अस्पतालले प्रवाह गर्ने केही सेवा बन्द गरिएको छ । अस्पतालमा कार्यरत केही कर्मचारीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि ती सेवा वन्द गराएको हो ।
सिन्धुली अस्पताल प्रशासनले एक सूचना जारी गर्दै अस्पतालमा उपचारका क्रममा सेवाग्राहीलाई समेत कोरोना सङ्क्रमण हुनसक्ने भएकाले आपत्कालीन उपचारबाहेकका अरु सेवा बन्द गरेको जनाएको छ ।
अस्पताल विकास समितिका अध्यक्ष प्रल्हाद पोखरेलले जिल्लामा कोरोना भाइरस सङ्क्रमित बढ्दै गएको र यसबाट अस्पतालका कर्मचारी पनि सङ्क्रमित भएकाले अर्को सूचना जारी नहुञ्जेलसम्म बुधबारदेखि अस्पतालको आकस्मिक र प्रसूतिबाहेक सम्पूर्ण सेवा बन्द गरिएको बताए ।
उनले भने, ‘कोभिड–१९ को जाँच तथा स्वाब सङ्कलनमा खटिएका कर्मचारीमा कोभिड पोजेटिभ देखाएको छ । यस अवस्थामा पनि सेवा प्रवाह गर्दा कोरोना सङ्क्रमण फैलनसक्ने भएकाले केही दिन ओपिडी सेवा बन्द गराएका हाँै ।’ हालसम्म उक्त अस्पतालमा कार्यरत नौ जनामा कोरोना पुष्टि भएको छ भने सात निको भइसकेका छन् । हाल दुई जना आइसोलेसनमै रहेको बताइएको छ ।
मङ्गलबार जिल्लामा सबैभन्दा बढी नौ महिला र १८ पुरुष गरी २७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो । यहाँ हालसम्म एक सय चार पुरुष र २९ महिला गरी एक सय ३३ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ ।
१९ महिला र ३३ पुरुष गरी ५२ जना आइसोलेसनमा छन् । ७७ जना कोरोना निको भएर घर फर्किसकेका छन् । अब ४२ जनाको पिसीआरको रिर्पोट आउन बाँकी छ । जिल्लामा केही दिनयता लगातार कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या उकालो लागिरहेको छ ।
यस्तै बन्दाबन्दी शुरु भएदेखि हालसम्म विदेशबाट एक हजार चार सय ८४ जना जिल्लामा आएका छन् । भारतबाट एक सय महिला र ६ सय ६३ पुरुष गरी सात सय ६३ जना सिन्धुलीमा आएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत उपेन्द्र न्यौपानेले बताए ।
अन्य मुलुकबाट एक सय ५३ महिला र ६ सय ३२ पुरुष गरी ६ सय ८५ जना जिल्लामा आएको बताइएको छ । विदेशबाट आएकालाई कमलामाई नगरपालिका–६ शिवनगरमा रहेको क्वारेन्टिनमा राखिने र पिसीआर जाँच गरेपश्चात नेगेटिभ रिर्पोट आएकालाई १४ दिन होमक्वारेन्टिनमा बस्ने शर्तसहित घर पठाउने गरिएको छ ।
यस्तै जिल्लाका विभिन्न पालिका तथा जनप्रतिनिधिको सम्पर्कमा विदेशबाट आएका व्यक्तिलाई पनि सम्बन्धित स्थानीय तहले पनि क्वारेन्टिनमा राख्ने गरेका छन् । यता कोरोना सङ्क्रमण बढेपछि मालपोत कार्यालय सिन्धुली बन्द भएको छ ।
कार्यालयका कर्मचारीमा कोरोना भाइरस पुष्टि भएपछि अनिश्चित रूपमा कार्यालय बन्द गरिएको छ । कार्यालयले मङ्गलबार एक सूचना जारी गर्दै अर्को सूचना जारी नहँुदासम्म कार्यालय बन्द रहने जनाएकोे छ । जिल्लामा रहेका वित्तीय संस्थामा सिद्धार्थ बैंक, एनसीसी बैंक, मेगा बैंक पनि बन्द भएका छन् ।







