न सिसिटिभी न प्रत्यक्षदर्शी : यसरी समातिए बल्खुमा मान्छे किच्ने ट्रक चालक

असोज २१, काठमाडौं ।
प्रहरीले २४ घन्टा नबित्दै बल्खुको ‘हिट एन्ड रन’ घटनामा फरार चालक पक्राउ गरेको छ । नजिकै सिसिटिभी र प्रत्यक्षदर्शी नभए पनि प्रहरीले अपराधीलाई पक्राउ गरेको छ ।

मंगलबार राति भएको घटनामा बुधबार मान्छे किच्ने ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा शेरबहादुर विक छन् ।

यस्तो थियो घटना
मंगलबार बिहान साढे ५ बजेतिर महानगरीय प्रहरी परिसर, ललितपुरलाई बल्खु खोलाको पुलमुनि एक पुरुषको शव भेटिएको खबर आयो । बल्खु प्रहरी प्रभागबाट एक टोली घटनास्थल पुग्यो ।

टाउकोबाट गिदी निस्किएको अवस्थामा शव देखेपछि प्रहरीले मृतकलाई कुनै गाडीले किचेर भागेको हुनसक्ने अनुमान गरे । छेउछाउमा रहेको पसलका सञ्चालकसँग सोधपुछ गरे पनि कसैले केही जानकारी नभएको प्रतिक्रिया दिए ।

घटनास्थल पुगेका ललितपुरका एसएसपी टेकप्रसाद राईले वरपर सिसिटिभी क्यामेराको दृष्य खोज्न चाहे पनि भेटिएन । कतैको क्यामेरामा पनि कुनै सम्बन्धित दृष्य कैद भएको थिएन । घटनास्थलमा क्यामरामा कैद हुने क्षेत्रमा छैन ।

त्यसपछि प्रहरीले ‘म्यानुअल’ अनुसन्धान थाल्यो । नजिकै रहेको एक कटेरोका सञ्चालकले मध्यराति एउटा १२ चक्के ट्रक घटनास्थल नजिकै रोकिराखेको आफूले देखेको प्रहरीलाई सुनाए ।

ती व्यक्तिले राति अबेरसम्म सवारीसाधनका मजदुरलाई खाना खुवाउने गरेका थिए । उक्त ट्रकका चालक पनि आफ्नै पसलमा खाएर निस्किएको उनले बताए ।

यसै आधारमा प्रहरीले ट्रकको खोजी थाल्यो । त्यसक्रममा बल्खुबाट उत्तरतिर लागेका अनुसन्धान अधिकृतले काठमाडौं जिल्लामा पर्ने एक गोदाममा रोकिराखेको अवस्थामा शंकास्पद ट्रक फेला पारे ।

सोधपुछ गरेर गाडी हेर्ने क्रममा एउटा चक्कामा रगत समेत देखियो । लगत्तै प्रहरीले लु २ ख २८६ नम्बरको ट्रक र चालक शेरबहादुर बिकलाई पक्राउ गरेर अनुसन्धान थाल्यो ।

बिकले कसूर स्वीकारेको प्रहरीले जनाएको छ । प्रारिम्भक अनुसन्धानमा उनले मादक पदार्थ समेत सेवन गरेर गाडी कुदाएको हुनसक्ने देखिएको छ ।

हाल घटनामा ज्यान गुमाएका व्यक्ति नुवाकोटका २० वर्षीय टोपबहादुर तामाङ भएको खुलेको छ । उनको राति २ देखि ३ बजेको समयमा मृत्यु भएको हुनसक्ने प्रहरीको आशंका छ ।