असोज, २१ काठमाडौं । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले रोकिएको सबै तहका परिक्षा सञ्चालन गर्न अनुमति दिएको छ ।
सरकारका प्रवक्ता प्रदिप ज्ञवालीले गत चैतमा लकडाउन भएपछि रोकिएका सबै परीक्षाहरु सञ्चालनका लागि सरकारले अनुमति दिएको बताएका हुन् ।
जनस्वास्थ्यका सम्पूर्ण मापदण्ड पालना गरी सबै शैक्षिक संस्थालाई परीक्षा सञ्चालनको सैद्धान्तिक सहमति दिइएको मन्त्री ज्ञवालीले जानकारी दिए।
‘जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी आयोग बोर्ड, प्रतिष्ठान, विश्वविद्यालय, शैक्षिक संस्थालाई सबै तहको परीक्षा सञ्चालनमा सैद्धान्तिक सहमति दिने निर्णय भएको छ’, ज्ञवालीले भने।
यस्तै मन्त्रिपरिषद बैठकले शिक्षक सेवा आयोगको अध्यक्ष छान्नका लागि सिफारिस समिति गठन गरेको छ।
सरकारका सबै तहबाट सञ्चालन भएका व्यवसायी तालिम सञ्चालनका लागिसमेत स्वीकृति दिएको छ।
‘तीनै तहका सरकारबाट सञ्चालनमा भएका व्यावसायिक तालिम सञ्चालन गर्न दिने निर्णय भएको छ। जसमा स्वास्थ्य मापदण्ड पूर्णरूपमा पालना गरेर २५ जनाभन्दा कम हुनुपर्छ’ उनले भने।







