प्रतिनिधि सभामा केसीको प्रवेशसँगै कार्यभार ग्रहण

काठमाडौँ । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा कार्यभार सम्हालेका छन्। यसअघि उनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनपछि नयाँ सरकार गठन र संसद् अधिवेशन आह्वानको तयारी भइरहेका बेला केसीले सभामुखको हैसियतमा जिम्मेवारी पाएका हुन्। कार्यभार सुरुका अवसरमा संसद् सचिवालयका उच्च अधिकारीहरूले उनको स्वागत गरेका थिए।

संसद् सचिवालयले भोलि बिहीबार ज्येष्ठ सदस्य केसीबाट प्रतिनिधि सभाका बाँकी २७४ जना नवनिर्वाचित सदस्यलाई शपथ गराउने कार्यक्रम तय गरेको छ। नयाँ सभामुख चयन नभएसम्म केसीले संसद् बैठकको अध्यक्षता गर्नेछन्।