असोज २२, कर्णाली ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जाजरकोट जीप दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति शोक व्यक्त गरेका छन् ।
जाजरकोटको जुनीचाँदे गाउँपालिका औंलखोलामा बुधबार भएको जीप दुर्घटनामा परी सो गाउँपालिका–११ का वडाअध्यक्ष अमरबहादुर शाहीसहित पाँच जनाको मृत्यु भएको थियो ।
घटनाप्रति मुख्यमन्त्री शाहीले भनेका छन्, ‘जीप दुर्घटनाका कारण जनप्रतिनिधिसहित ठूलो मानवीय क्षति भएको घटनाले प्रदेश सरकारलाई स्तब्ध तुल्याएको छ ।’ उनले उक्त दुर्घटनामा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली एवम् शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।
जुनीचाँदे जाँदै गरेको भे १ज९३५ नम्बरको जीप बुधबार उक्त गाउँपालिका–१ औलखोलामा दुर्घटनामा परेको थियो । जसमा वडा नं. ११ का अध्यक्ष अमरबहादुर शाही, सोही वडाका कृतिबहादुर शाही, खेमबहादुर शाही, वडा नम्बर ५ का मालिका बस्नेत र कृष्णबहादुर शाहीको मृत्यु भएको थियो ।
दुर्घटनामा परी घाइते भएका सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै मुख्यमन्त्री शाहीले उपचारमा कुनै कमी आउन नदिन र बेपत्ताको खोजीमा तीव्रता दिन सम्बन्धित सबैमा आग्रह गरेका छन् ।
दुर्घटनाको खबर पाउने बित्तिकै उद्धार, उपचार एवम् सूचना सम्प्रेपणमा संलग्न सबैलाई मुख्यमन्त्री शाहीले धन्यवाद व्यक्त गरेका छन् । साथै उनले सडक दुर्घटनाका कारण वर्षेनी ठूलो सङ्ख्यामा नागरिकको ज्यान गईरहेकोप्रति चिन्ता व्यक्त गर्दै सडक दुर्घटना रोकथाम र न्यूनीकरणका लागि प्रभावकारी कदम चाल्न सम्बद्ध सबै निकायलाई आग्रहसमेत गरेका छन् ।







