असोज २२, जाजरकोट ।
मापदण्ड विपरीत निर्माण भएको सडकले दुर्घटना निम्त्याको भन्दै स्थानीयले जुनिचाँदे दुर्घटनामा मृत्यु भएकाको शव उठाउन दिएका छैनन् । दुर्घटनाको प्रबल सम्भावना भएको उक्त सडकबारे जुनिचाँदे गाउँपालिकाका सर्वसाधारणले पटक–पटक सरोकारवाला निकायसमक्ष आवाज उठाउँदै आएका थिए ।
तर आफूहरूको कुरा नसुनिँदा यसै सडकको एकै ठाउँमा दुई पटक जिप दुर्घटना हुँदा आठजनाको मृत्यु भएको भन्दै उनीहरूले विरोध जनाएका हुन् । जुनिचाँदे–१ लोड्नीदेखि मजकोटसम्मको सडक निर्माण गर्दा व्यवसायीले डोजर चालकलाई इञ्जिनीयर बनाएर सडक खनेका थिए ।
‘अघिल्लो वर्ष मात्र खनिएको सो सडकमा जिप चल्नै नसक्ने भएपछि गाउँपालिकाले समेत केही रकम विनियोजन गरी सडकलाई केही सजिलो बनाएको थियो’, गाउँपालिकाका कार्यवाहक अध्यक्ष शिवा आचार्यले भने, ‘पटक–पटक सडकको गुणस्तरको कुरा हामीलगायत यहाँका सर्वसाधारणले गर्दागर्दै दुई पटक दुर्घटना भयो । जनप्रतिनिधिभन्दा ठेकेदार बलियो भएको यो देश छ । सडक बनाउँदा हामीसँग कुनै समन्वय गरिएन ।’
भर्खरै मात्र उक्त गाउँपालिकाको केही भागमा सडक सञ्जाल जोडिएको छ । जुनिचाँदे मात्र होइन, जिल्लाका अधिकांश ठाउँमा डोजर चालक नै इञ्जिनीयर भएर खनिएका सडकमा यस्ता दुर्घटना हुँदै आएका छन् ।
जथाभावी खनिएका सडकमा नियमनकारी निकायले ध्यान नदिँदा अझै कति दुर्घटना हुन्छन् भन्न नसकिने आचार्यको भनाइ छ । भर्खरै मात्र साधारण बाटो सञ्चालन भएको यो सडकखण्डमा सडकको गुणस्तरलाई ध्यान नदिँदा समस्या हुँदै आएको छ ।
चालकको पसलमा आगजनी
जुनिचाँदे गाउँपालिका–१ औलमा बुधबार बेलुकी भे१ज ९३५ नम्बरको जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नं ११ का वडाध्यक्ष ५० वर्षीय अमरबहादुर शाही, ६० वर्षीया कृति शाही, ३२ वर्षीय खेमबहादुर शाही, वडा नं ५ की ३० वर्षीया मालिका बस्नेत, २९ वर्षीय कृष्णबहादुर शाही र लालबहादुर बुढा छन् ।
सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र रेग्मीले बेपत्ता भनिएका छेडागाड नगरपालिका–५ का कर्णबहादुर शाहीको परिचान खुलेको बताए । चालक गोरखबहादुर बस्नेत सम्पर्कमा नरहेको डिएस्पी किशोर श्रेष्ठले जानकारी दिए ।
चालकको सुवानाउलीमा रहेको घुम्ती पसलमा पीडितले आगजानी गरेका छन् । पीडितले अझै घटनास्थलमा प्रहरीलाई जान नदिएको डिएसपी श्रेष्ठले बताए ।
जनप्रतिनिमाथि आक्रमणको प्रयास भएका कारण घटनास्थल जान नसकिएको कार्यवाहक अध्यक्ष आचार्यले जानकारी दिए । जुनिचाँदे गाउँपालिकाको कार्यपालिकाको बैठकका लागि सदरमुकाम खलङ्गाबाट पराले जाँदै गरेको जिप दुर्घटना परेको हो ।
जिपमा सवार जुनिचाँदे–११ का नरबहादुर बुढा घाइते भएका छन् । घाइतेका सुर्खेतस्थित प्रदेश अस्पतालमा उपचार कार्य जारी रहेको छ । जिप खोलामा परेको छ । मृतकमध्ये खेमराज शाही र कृष्णबहादुर शाही स्वास्थ्यकर्मी हुन् ।
शव निकाल्न दिइएन
शव निकाल्न आएका प्रहरीलाई स्थानीयवासीले शव निकाल्न नदिएको प्रहरीले जनाएको छ । मापदण्डविपरीत बनाएको सडकले गाडी दुर्घटना परेको भन्दै शव निकाल्न नदिएको प्रहरीले जनाएको छ ।
जुनिचाँदे–१ लोड्नेदेखि लुहादहसम्म निर्माण भएको सडक ठेकेदारको लापर्वाहीका कारण मापदण्डविपरीत निर्माण भएको थियो । पटक–पटक सो सडक मापदण्डविपरीत निर्माण भएको आवाज उठे पनि सरोकारवालाको नसुन्दा यो ठाउँमा यातायातका साधन दुर्घटना हुँदै आएका छन् ।
केही महिनाअघि मात्र सोही ठाउँमा जिप दुर्घटना हुँदा मानवीय क्षति भएको थियो । कच्ची कटान गरेको सडकमा निर्माण व्यवसायीले नाफाका लागि जथाभावी गर्दा समस्या उत्पन्न भएको हो । सदरमुकामबाट गए राति नै सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायतको थप टोली पठाएको भए पनि स्थानीयवासीको अवरोधका कारण सुरक्षाकर्मी नजिक जान नसकेको प्रहरीको भनाइ छ । (रासस)







