असोज, २२ काठमाडौं । २५औँ दिन देखि सत्याग्रहमा बसेका प्रा डा गोविन्द केसीसँग सरकारले आज वार्ता सुरु गरेको छ ।
वार्ताकालागि बुधावार सरकार र केसीपक्षबाट टोली गठन भएको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सुरु भएको छ । वार्तामा डा. केसीले अघि सारेको ६ बुँदे मागबारे छलफल हुने बताइएको छ ।
अनसनरत डा केसीको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि वार्ताका लागि सरकारी र डा केसीको तर्फबाट बुधवार वार्ता टोली गठन गरिएको थियो ।
चिकित्सा शिक्षाको सुधारको माग राख्दै १९ औँ पटक अनसनरत डा केसी पक्षको वार्ता टोली र सरकारी टोलीबीच आज वार्ता हुन भएको हो ।
सरकारसँग वार्ता गर्नका लागि डा केसीका तर्फबाट डा. जीवन क्षेत्रीको संयोजकत्वमा ४ सदस्यीय वार्ता टोली गठन गरिएको छ । टोलीमा डा अञ्जली कुमार झा, डा लोचन कार्की र ओम प्रकाश अर्याल रहेका छन् ।
त्यस्तै सरकारी पक्षबाट शिक्षा मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरि वार्ता गर्न लागिएको हो। वार्ता टोलीमा स्वास्थ्य मन्त्रालयका सह(सचिव डा गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डा दिलीप शर्मा रहेका छन् ।
यस्ता छन् केसीका माग
१. कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्याएर एमबीबीएस लगायतका कार्यक्रमहरु संचालन गरियोस् । गेटा मेडिकल कलेज र राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र पूर्वाधार र जनशक्ति पुर्याएर पठनपाठन शुरू गरियोस् । प्रदेश नं दुई र गण्डकी प्रदेश तथा डोटी वा डडेल्धुरा,उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाइयोस् ।
२. मास्कको प्रयोग र सामाजिक दुरीलाई अनिवार्य गर्दै पीसीआर परीक्षण व्यापक बनाएर लकडाउन र निषेधाज्ञा अन्त गरियोस्। कोभिड तथा अन्य रोगका सबै बिरामीहरुका लागि समेत उचित उपचारको व्यवस्था गरियोस् ।
३. हामीसँग २०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरियोस् ।
४. त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठता मिचेर भएका नियुक्तिहरु सच्याउँदै सबै पदमा वरिष्ठताका आधारमा नियुक्ति गरियोस्। विश्वबिद्यालय, काउंसिल र प्रतिस्ठानहरुमा पदाधिकारी नियुक्तिका लागि पदाधिकारी मापदण्ड निर्धारण समितिले दिएको सुझाब अनुरूप निष्पक्ष र पारदर्शि ढङ्गले पदाधिकारी नियुक्त गर्ने कानूनी व्यवस्था गरियोस् ।
५. राज्यलक्ष्मी गोल्छा घुस काण्ड, आयल निगम जग्गा खरिद काण्ड, वाइड बडी काण्ड, सेक्युरिटी प्रेस खरिद काण्ड, दरबारमार्गको जग्गा काण्ड, ओम्नी समूहको औषधि खरिद काण्डलगायत सबै ठूला भ्रष्टाचार काण्डका दोषीहरुलाई कानुन बमोजिम छानविन र कारवाही गरियोस्। बालुवाटार जग्गा काण्डमा आपराधिक लाभ लिने सत्तारुढ दलका नेतामाथि छानबिन र कारबाही चलाइयोस् ।
६. बयलपाटा अस्पताललाई नियमित आवश्यक बजेटको व्यवस्था गरी दिगो निस्शुल्क सेवा सुनिश्चित गरियोस् ।







