काठमाडौं । संसद् सचिवालयले बुधबार (चैत १८) सर्वदलीय बैठक बोलाएको छ । उक्त बैठक आज दिउँसो १ बजे संसद् सचिवालयमा बस्ने तय गरिएको छ।
सरकारको सिफारिसमा राष्ट्रपतिबाट संघीय संसद्को अधिवेशन आह्वान भएपछि बैठकको मिति निर्धारण गरिएको हो।
त्यसैगरी, बिहीबार (चैत १९) दिउँसो २ बजे प्रतिनिधिसभाको पहिलो बैठक बस्ने कार्यक्रम छ। सो बैठकका एजेन्डा र तयारीबारे छलफल गर्न संसद्मा प्रतिनिधित्व गर्ने ६ दललाई सर्वदलीय बैठकमा बोलाइएको हो।
सभामुख चयन नभएसम्म प्रतिनिधिसभाको बैठक ज्येष्ठ सदस्यले सञ्चालन गर्नेछन्। प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले चैत १२ गते नव निर्वाचित सांसदहरूलाई शपथ गराइसकेका छन्।







