गोविन्द केसी निस्वार्थी सत्याग्रही हुनुहुन्छ, उहाँको जीवन रक्षामा ध्यान दिनु पर्दछ : प्रवत्ता श्रेष्ठ

असोज, २२ काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रा डा गोविन्द केसीको जीवन रक्षामा सबै पक्षले ध्यान दिनुपर्ने बताएका छन् । उनले केसीको सत्याग्रहको बलले चिकित्सामा शिक्षा र स्वास्थ्यको क्षेत्रमा महत्वपुर्ण उपलब्धि भएको पनि बताएका छन् ।

श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा मार्फत स्टाटस लेख्दै भनेका छन्– ‘डा. गोविन्द केसी १९ औं अनशनको २५औं दिनमा हुनुहुन्छ। डा.केसीसँग कैयौँ बिषयमा असहमति हुन सक्ला र छन् पनि । सबै मिलेर कोरोनाको बिरुद्ध जुझ्नु पर्ने बेलामा यसपटक अनशनको समयका बारेमा सोच्नु पर्थ्यो भन्ने पनि धेरैलाई लागेकै छ। तर के कुरामा संका छैन भने उहाँ निस्वार्थी सत्याग्रही हुनुहुन्छ। उहाँको सत्याग्रहको बलमा चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको क्षेत्रमा महत्वपुर्ण उपलब्धि हाँसिल भएका छन् र त्यो सबै नेपालीका लागि खुसीको कुरा हो। उहाँको जीवन महत्वपुर्ण छ र यतिबेला सरकार, उहाँ स्वयं र हामी सबैले उहाँको जीवन रक्षामा ध्यान दिनु पर्दछ । यस सन्दर्भमा सरकारले हिजो डा. केसीसँग वार्ताका लागि वार्ता टोली गठन गरेर सकारात्मक पहल गरेको छ। आशा गरौं,छिट्टै सकारात्मक निष्कर्षमा पुगिनेछ । समाधान हुनेछ । ’

सत्याग्रहमा बसेका प्रा डा गोविन्द केसीसँग सरकारले आज वार्ता सुरु गरेको छ ।

वार्ता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सुरु भएको छ । वार्तामा डा. केसीले अघि सारेको ६ बुँदे मागबारे छलफल हुने बताइएको छ ।

अनसनरत डा केसीको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि वार्ताका लागि सरकारी र डा केसीको तर्फबाट बुधवार वार्ता टोली गठन गरिएको थियो ।

चिकित्सा शिक्षाको सुधारको माग राख्दै १९ औँ पटक अनसनरत डा केसी पक्षको वार्ता टोली र सरकारी टोलीबीच आज वार्ता हुन भएको हो ।

सरकारसँग वार्ता गर्नका लागि डा केसीका तर्फबाट डा। जीवन क्षेत्रीको संयोजकत्वमा ४ सदस्यीय वार्ता टोली गठन गरिएको छ । टोलीमा डा अञ्जली कुमार झा, डा लोचन कार्की र ओम प्रकाश अर्याल रहेका छन् ।

त्यस्तै सरकारी पक्षबाट शिक्षा मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरि वार्ता गर्न लागिएको हो। वार्ता टोलीमा स्वास्थ्य मन्त्रालयका सह९सचिव डा गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डा दिलीप शर्मा रहेका छन् ।