सुडानको अस्पतालमा ड्रोन आक्रमण, दश जनाको मृत्यु

एजेन्सी– मध्य सुडानको ह्वाइट नाइल राज्यको अल–जबालाइन अस्पताललाई लक्षित गरी भएको आक्रमणमा चिकित्सा तथा प्रशासनिक कर्मचारी गरी दश जनाको मृत्यु भएको छ ।

साथै २२ जना सर्वसाधारण घाइते भएको सुडानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कर्मचारीहरूले आफ्नो कर्तव्य पालना गरिरहेको अवस्थामा अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) ले अल–जबालैन अस्पतालमा आक्रमण गरी उनीहरुको ज्यान लिएको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।

मृतकहरू मध्ये अस्पतालको महानिर्देशक डाक्टर हमिद सुलेमान पनि रहेको जनाइएको छ भने उहाँको उपचारको क्रममा मृत्यु भएको थियो ।

मन्त्रालयले अन्तर्राष्ट्रिय मापदण्ड र कानुनको उल्लङ्घन गरी आक्रमण गरेको बताउँदै नागरिक र स्वास्थ्य सुविधालाई निरन्तर लक्षित गरी आक्रमण गरिएको भन्दै निन्दा गरेको छ ।

सन् २०२३ अप्रिलको मध्यमा सुरु भएको सुडानी सशस्त्र बल र आरएस एफ बिचको द्वन्द्वमा दशौं हजारको मृत्यु हुनुका साथै लाखौं विस्थापित भएको जनाइएको छ ।

विश्व व्यापार संगठन (डब्ल्यूटीओ) ले लगभग तीन वर्ष लामो द्वन्द्वमा २१३ वटा स्वास्थ्य सुविधाहरूमा आक्रमण गर्दा दुई हजार भन्दा बढीको मृत्यु भएको पुष्टि गरेको छ ।