आज फेरि डाक्टर केसी र सरकारी पक्षबीच वार्ता हुने

असोज २३, काठमाडौं ।
चिकित्सा क्षेत्र सुधारका माग राख्दै अनसन बसेका डाक्टर गोविन्द केसीसँग आज फेरि वार्ता हुने भएको छ । बिहीबार केहीबेर छलफलपछि टुंगिएको वार्तालाई शुक्रबार पनि निरन्तरता दिँइदैछ ।

केसी पक्ष र सरकारी टोलीबीचको वार्ता आज पुनः बस्ने केसीका तर्फबाट वार्तामा सहभागी एक सदस्यले जानकारी दिए । सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा भएको वार्तामा केसीले उठाएका मागका विषयमा छलफल भएको थियो ।

छलफलले केसीका ६ बुँदे मागलाई बुँदागत रुपमा सम्बोधन गर्ने गरी पहिलो मस्यौदा तयार पारेको बताइएको छ । तर अन्तिम निष्कर्षमा भने पुग्न नसिकएको ती सदस्यले बताए ।

बिहीबार दिउँसो केहीबेर ब्रेक गरी वार्ता जारी राखिएको थियो । बिहीबार नै सहमतिमा पुग्ने प्रयास गरिएपनि दुवै पक्षले थप छलफल आवश्यक परेको भन्दै शुक्रबार पुनः बस्ने गरी वार्ता स्थगित गरेका थिए ।

केसी अनसन बसेको २५औं दिनमा सरकारले वार्ता सुरु गरेको हो । बुधबार दुवै पक्षले वार्ता टोली गठन गरेका थिए ।