असोज २३, काठमाडौं ।
मन्त्रीपरिषद्ले नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा डिम प्रकाश पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ । यसैगरी लुम्बिनी विकास कोषको सदस्य सचिवका रुपमा सानुराजा शाक्यलाई नियुक्त गर्ने निर्णय भएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले ४ वर्षका लागि पौडेललाई निगमको प्रमुख बनाएको हो । पौडेल अहिले निगमकै सञ्चालक समिति सदस्य थिए ।
सरकारले उनलाई असारमा निगम सञ्चालक नियुक्त गरेको थियो । पौडेल चार्टर्ड एकाउन्टेन्ट हुन् । निगमको महाप्रबन्धक हुने भएपछि उनले केही दिनअघि बतास अर्गनाइजेसनको प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिएका थिए ।
निगममा पूर्वसचिव सुशील घिमिरे कार्यकारी अध्यक्षका रूपमा कार्यरत थिए । अब उनी अध्यक्षको भूमिकामा रहनेछन् ।
यसैगरी लुम्बिनी विकास कोषको सदस्य सचिवमा नियुक्त शाक्य काठमाडौंका बासिन्दा हुन् । उनले बुद्धिज्ममा स्नातकोत्तर गरेका छन् ।







