रोग नियन्त्रणले सप्तरीका किसान खुशी

असोज २३, सप्तरी ।
पशुहरुमा लागेको रोग नियन्त्रणमा आएपछि र पशुपंक्षी प्राविधिकहरूले घरैमा सुविधा उपलब्ध गराउन थालेपछि सप्तरीको कञ्चनरुपका पशुपालक किसान खुशी भएका छन् ।

पशुपन्क्षी विकास शाखा कञ्चनरुपका प्राविधिकहरुले घर–घरमा गएर किसानको मर्का सुनेर समाधान गर्न थालेकाले पशुपालक खुशी भएका हुन् । समस्या परेको बेलामा फोन गर्नासाथ सहजै प्राविधिकहरु आई समाधान गरीदिनाले किसानलाई ठूलो सहयोग तथा सुविधा पुगेको किसान रामदेव साहको भनाइ छ ।

पशुहरुमा रोग लागेर किसान प्रभावित भएका बेला नगरपालिकाले प्रदेश नं २ बाट विशेषज्ञ टोली ल्याइ सुक्ष्म तरिकाले रोगको अध्ययन अनुसन्धान गरी रोगलाई नियन्त्रण गरेकाले किसान औधी खुशी भएको खिलानाथ पोखरेलले बताए । कोरोना भाइरसले थलिएको अवस्थामा पशुहरुमा समेत ‘लम्पी स्किन डिजिज’ रोग देखिएपछि किसान चिन्तित बनेका थिए ।

किसानको मर्का बुझी तत्कालै नमूना सङ्कलन गरी रोगको नियन्त्रण गर्ने काम गरिएको नगरप्रमुख वसन्तकुमार मिश्रले बताए । नगरपालिकाले भूमि व्यवस्था तथा कृषि पशुपन्क्षी मन्त्रालय प्रदेश नं २ जनकपुरधामबाट विशेषज्ञ टोली ल्याई नमूना सङ्कलन गरेको थियो ।

गत साउन र भदौ महिनामा रोगले सात पशुचौपायाको मृत्यु भएको थियो । पशु विकास अधिकृत दिवाकान्त चौधरीले दिएको जानकारीअनुसार रोगले प्रभावित बनेको दुई सय ४ पशुको उपचार गरी रोग नियन्त्रण गरिएको छ ।

पशु रोगले नगरपालिकाको वडा नं १ देखि ११ सम्म प्रभावित बनेको थियो । जसमा वडा नं ५, ६, ८ र ९ बढी प्रभावित हुन पुगेको स्थानीय किसान बताउँछन् ।

भूमि व्यवस्था तथा कृषि पशुपन्क्षी विकास मन्त्रालय प्रदेश नं २ जनकपुरधामबाट डा सञ्जीव ठाकुर, डा रञ्जित अधिकारी र डा शिवनन्दन यादवको विशेषज्ञ टोलीले ६० वटा पशुबाट नमूना सङ्कलन गरी उपचार गरेपछि रोग नियन्त्रणमा आएको पशुपन्क्षी विकास शाखा कञ्चनरुपले जनाएको छ ।

पशुपंक्षी विकास शाखाका अनुसार नगरपालिकाले एक लाख रूपैयाँको औषधि खरिद गरी किसानलाई वितरण गरेको थियो । नगरपालिकाले कृत्रिम गर्भाधानसमेत निःशुल्क गरेको छ । शाखाले आर्थिक वर्ष २०७६÷७७ मा १० हजार ८३ पशुमा प्राथमिक उपचार गरेको जानकारी दिएको छ ।

यसैगरी एक सय ६० पशुमा माइनर सर्जिकल, एक सय ३५ मा गाइनोकोलोजिकल, दुई हजार तीन सय ७५ गोबर परीक्षण, २२ हजार ६ सय ७४ एचएसबिक्यू, आठ हजार पिपीआर र डेढ हजार किलो हिउँदे घाँसको बीउ वितरण गरिएको पशु विकास अधिकृत चौधरीले जानकारी दिए ।

शाखाले गरेको कृत्रिम गर्भाधानबाट उन्नत जातको पशु उत्पादन हुन थालेको किसान चन्द्रनारायण खड्गाले बताए । यस्तै तीय सय ४७ गाई, ७५ भैँसी र ४९ बाख्राको कृत्रिम गर्भाधान गरेको शाखाले १४ वटा उन्नत जातको बोका वितरण गरेको जनाएको छ ।

शाखाले दुईपटक तीनदिने व्यावसायिक बाख्रापालन तालिम र एकपटक पोषण कार्यक्रम गरेको छ । कार्यक्रमसम्बन्धी स्थानीय सञ्चारमाध्यममा पहिले नै सूचना प्रवाह गर्ने गरिएको पशु विकास अधिकृत चौधरीले बताए । (रासस)