काठमाडौं । भेटेरिनरी एसोसिएसनका पूर्वअध्यक्ष डा. सितलकाजी श्रेष्ठ राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन् ।
नेपाल भेटेरिनरी एसोसिएसनले आफ्नो १६औं राष्ट्रिय सम्मेलन पारेर संस्थाको पूर्वअध्यक्ष डा. श्रेष्ठलाई एनभीए राष्ट्रिय सम्मान २०२६ प्रदान गरेको हो ।
रुपन्देहीको तिलोत्तमामा २७ चैतदेखि सुरु भएको दुई दिने राष्ट्रिय सम्मेलनमा लुम्बिनीको मुख्य मन्त्री चेतनारायण आचार्यले उक्त सम्मान श्रेष्ठलाई प्रदान गरेका हुन् ।
नेपालको भेटेरिनरी पेसामा छोटो समयमै उनले गरेको उल्लेखनीय योगदान र विशेष गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा गएर नेपालको भेटेरिनरी पेसाले खेलेको भूमिकामा डा. श्रेष्ठले गरेको योगदानको कदर स्वरूप उक्त सम्मान प्रदान गरेको हो।
नेपालको भेटेरिनरी सेवालाई आवश्यक सेवामा समावेश गर्न उनले खेलेको भूमिकाको श्रेय पनि डा. श्रेष्ठलाई उक्त सम्मान दिने क्रममा उल्लेख गरिएको थियो ।
डा. श्रेष्ठ नेपाल भेटेरिनरी एसोसिएसनको ६० वर्षे इतिहासमा सबैभन्दा कम उमेरको र निरन्तर रूपमा ७ वर्षसम्म ३ कार्यकाल पूरा गर्ने पूर्व अध्यक्ष हुन् । डा. श्रेष्ठले आफ्नो पहलमा सार्क क्षेत्रीय भेटेरिनरी एसोसिएसन पनि स्थापना गरेका छन् ।
त्यस्तै एसोसिएसनले कृषि तथा वन विज्ञान विश्वविधालयका प्राध्यापक डा. भूमिनन्द देवकोटा लाई पनि पशु प्रजननमा उल्लेखनिय योगदान गरे बापत सम्मान गरेको थियो ।







