गुण्डा नाइके राधे भण्डारी पक्राउ

असोज २३, धादिङ ।
प्रहरीले गुण्डा नाइके राधे भण्डारीलाई पक्राउ गरेको छ । सिद्धलेक गाउँपालिकाका जनप्रतिनिधिलाई धम्की दिएपछि जिल्ला प्रहरी कार्यालय धादिङले उनलाई पक्राउ गरेको हो ।

जिल्लाका डीएसपी लोकनाथ तिम्सिनाका अनुसार बालुवा निकाल्ने ठेक्काको म्याद सकिएपछि पनि उनले अवैध तरिकाले बालुवा निकालिरहेका थिए । जनप्रतिनिधिले त्यसलाई रोक्न भनेपछि भण्डारीले धम्की दिएका थिए ।

त्यसपछि गाउँपालिकाका प्रतिनिधिले जिल्ला प्रशासन कार्यालय, धादिङमा उजुरी दिएपछि भण्डारीविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो । भण्डारी नेपाली कांग्रेस निकट तरुण दलको जिल्ला उपाध्यक्ष समेत हुन् ।

उनी २३ जेठमा धादिङमा हतियारसहित पक्राउ परेका थिए । यसअघि ०७० साल २१ असारमा धादिङबाट राजधानी फर्किने क्रममा गुण्डा नाइके दिनेश अधिकारी (चरी) लाई गोली हानेपछि उनी चर्चामा आएका थिए ।

त्यसअघि चरी समूहका आयुप तामाङको समेत उनले हात काटिदिएका थिए । चरीलाई गोली हानेको घटनामा उनी राजनीतिक दबाबमा डेढ लाख रुपैयाँ धरौटी तिरेर छुटेका थिए । चरी भने २१ साउन २०७१ मा भीमढुंगामा भएको प्रहरी इन्काउन्टरमा मारिएका छन् ।