नेपालमा १ लाख नाघ्यो कोरोना संक्रमितको संख्या, ७३ हजार २३ संक्रमणमुक्त

आज २०५९ जना थपिए, १ हजार ६८० जना निको भए

असोज, २३ काठमाडौं । पछिल्लो २४ घण्टाको विवरण अनुसार नेपालमा थप २०५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ६७६ पुगेको छ ।

बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १३ हजार २७९ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप २ हजार ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी दिएको छ ।

काठमाडौंमा १ हजार ११६, ललितपुरमा १६३ र भक्तपुरमा १३० जनासहित काठमाडौं उपत्यकामा मात्रै १ हजार ४०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा बितेको २४ घण्टामा थप १ हजार ६८० जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ७३ हजार २३ पुगेको छ । यो कुल संक्रमितको ७२.५ प्रतिशत हो ।

यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या २७ हजार ५३ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा १५ हजार ८७७ जना र संस्थागत आईसोलेसनमा ११ हजार १७६ जना छन् । तिमध्ये ३१८ जना संक्रमितको आईसियु र ७५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ४ हजार ७०३ जना रहेका छन् ।