असोज २४, काठमाडौं ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले वार्ता टोलीस्तरमा भएको सहमतिलाई अस्वीकार गरेपछि सरकार र डा. गोविन्द केसीबीच हुनै लागेको सहमति भाँडिएको छ ।
६ बुँदे माग राखेर अनसनरत केसी पक्ष र सरकारी टोलीबीच बिहीबार दिनभर भएको वार्तामा लगभग सहमति जुटेको थियो । सहमतिको मस्यौदाबारे सरकारी वार्ता टोली एवं शिक्षा सचिव गोपी मैनालीले प्रधानमन्त्री केपी शर्मा ओलीसम्म पुर्याएका थिए ।
स्रोतका अनुसार सरकारी पक्षबाट त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) पदाधिकारी लगायतको नियुक्तिको मापदण्ड ऐनमा समावेश नहुँदासम्म हुने नियुक्तिबारे सहमतिको मस्यौदाको भाषामा थोरै हेरफेर गरेको थियो ।
अरु सबै विषयमा दुबै टोली सहमत थिए । त्यही परिमार्जित विषयमा दुई वार्ता टोली बसेर टुंगो लगाउने र डा. केसीको अनसन शुक्रबार नै तोडाउने तयारी थियो ।
त्यही सन्देश पाएको डा. केसीको वार्ता टोली दिनभर तयारी अवस्थामा थियो । तर सरकारी टोली वार्तामै आएन । स्रोतका अनुसार सरकारी वार्ता टोलीका संयोजक मैनालीले लाइन मिनिस्टरलाई देखाएर मात्र सहमतिलाई आौपचारिकता दिन चाहे ।
तर शिक्षामन्त्री पोखरेलले दुई वार्ता टोलीले बनाएको मस्यौदामा थप संशोधन गरे । उनले चिकित्सा शिक्षा ऐन संशोधनसम्बन्धी सहमतिमा केसीसँग सहमति भएको मिति राख्न चाहेनन् । साथै अहिले गर्न लागिएको सहमतिलाई मन्त्रिपरिषद बैठकमा लैजाने भन्ने बुँदा पनि हटाउन लगाए ।
त्यही कारण हुनै लागेको सहमति भाँडिएको छ । स्रोतले भन्यो, ‘वरिष्ठताका आधारमा पदाधिकारी नियुक्त गर्ने बुँदामा समेत सहमति भइसकेको थियो, तर एकाएक सहमति भाँडियो ।’
सहमतिको मस्यौदामा संशोधन गरेर हिँडेका शिक्षामन्त्री त्यसपछि सरकारी वार्ता टोलीसँग सम्पर्कमै नआएको बताइएको छ । केसीको वार्ता टोलीले सम्पर्क गर्न खोज्दा समेत उनी सम्पर्कमा नआएपछि सहमतिको प्रयास असफल भयो ।
केसीको तर्फबाट बनेको वार्ता टोलीका संयोजक जीवन क्षेत्रीले पनि सरकार सहमतिबाट पछि हटेको बताए । उनले भने, ‘शिक्षामन्त्री गिरिराजमणि पोखरेलले दुरासय राखे, डा. केसी मरे पनि मरोस् भन्ने जस्तो गरे । समझदारीबाट पछाडि हट्ने काम भयो ।’
अब सोलिडारिटी फर केसी, नेपाल चिकित्सक संघ लगायतले कडा आन्दोलन गर्ने उनले बताए । यद्यपि वार्ताका लागि आफूहरु सदा तयार हुने उनले बताए ।
केसीको वार्ता टोली संयोजक क्षेत्रीले भने, तत्काल होला भनेर धेरै आशावादी छैनौं । तर हामी जुन कुनै बेला वार्तामा बस्न तयार छौं ।’







