असोज २४, काठमाडौं ।
धरहराको निर्माण सम्पन्न गर्ने निर्माण कम्पनीलाई सरकारले नौ महिना म्याद थप गरेको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणले धरहरा निर्माणको ठेक्का लिएको कम्पनी रमन कन्स्ट्रक्सनलाई निर्माण सम्पन्न गर्न थप ९ महिना समय दिएको हो ।
रमनले २०७७ असोज २० गतेभित्र धरहराको सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो । लगत्तै उक्त कम्पनीले २०७५ कात्तिक महिनादेखि निर्माण कार्य सुरु गरेको थियो । तर कोभिडका कारण लकडाउन हुँदा निर्माण कार्य प्रभावित भएको भन्दै रमनले २१ महिना थप समय माग गरे पनि प्राधिकरणले नौ महिना समय थपेको हो ।
रमन कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर तथा इञ्जिनियर श्यामचन्द्र श्रेष्ठले लकडाउनका कारण काम प्रभावित भएको र मुख्य म्युजियमको साइट भर्खरै प्राप्त भएकाले तोकिएको समयमै काम सम्पन्न नहुने भएकाले समय थप्नु परेको बताए । अहिलेसम्म धरहराको १६ तल्ला ढलान भइसकेको छ ।
त्यसबाहेक धरहराको अन्डरग्राउन्डमा रहेको डबल बेसमेन्टको काम सम्पन्न भई ट्रिपल बेसमेन्टको काम भइरहेको पनि उनले बताए । जसमा चार सय वटा सानो गाडी र सात सय वटा मोटरसाइकल पार्किङ गर्न मिल्ने गरी तयार गरिनेछ ।
त्यस्तै मुख्य म्युजियमको साइट भर्खरै प्राप्त भएकाले धेरै काम बाँकी रहेको उनले बताए । अहिले थपिएको समयमा पनि पूर्ण रुपमा काम सम्पन्न गर्न चुनौती रहेको श्रेष्ठले बताए ।
२२ तलायुक्त बन्ने धरहराको कुल लागत तीन अर्ब ४५ करोड रुपैयाँ छ । धरहराको कुल क्षेत्रफल ४२.२ रोपनी रहेको छ । धरहराको निर्माण कार्यमा लकडाउन अघि तीय सय ५० जनाले काम गरिरहेका थिए ।
लकडाउनको बेला पनि २०–२५ जनाको संख्यामा कामदार राखेर निर्माण गरिरहेको कम्पनीले अहिले भने अढाइ सय जना कामदारले कामलाई तीब्रता दिएको बताएको छ ।







