असोज २४, विराटनगर ।
कोभिड–१९ को विश्वव्यापी महामारीका कारण तयारी छालाको निर्यात ह्वात्तै घटेपछि नेपालमै निर्यातकर्ताले छालाका जुत्ता उत्पादन गर्न थालेका छन् ।
सुनसरीको दुहबीमा परवेज अख्तरले जुत्ता उद्योग सञ्चालनमा ल्याएका छन् । उनको छाला उद्योग युनाइटेड ट्यानरिजमा काँचो, अर्ध प्रशोधित, प्रशोधित र तयारी छाला गरी ५० करोडभन्दा बढीको मालवस्तु मौज्दात थियो ।
तर कोभिडका कारण चीन, इटली, फ्रान्स, टर्की, ल्याटिन अमेरिका लगायत सबैजसो मुलुकका क्रेताले अर्डर रद्द गर्न थाले । त्यसपछि उनले आफैले उद्योग सञ्चालन गर्ने निर्णय गरे ।
तयारी छालाको पूर्ववत् निर्यात सम्भव नभएको र कदाचित् निर्यात भइहाले पनि कौडीको भाउमा बेच्नुभन्दा यो विकल्प सहि भएको उनको भनाइ छ ।
६७ वर्षीय परवेजका बाबु समसुलले राणाकालदेखि छालाको व्यापार गरेका हुन् । पूर्वी पहाडमा काँचो छालाको ठेक्का समसुलले नै पाउँथे । पहाडमा संकलित सबै काँचो छाला धरानमा जम्मा हुन्थ्यो र धरानबाटै भारततर्फ निर्यात गरिन्थ्यो । सन् १९८४ मा समसुलको परिवारले दुहबीमा युनाइटेडको स्थापना गरेको हो ।
त्यसपछि युनाइटेडले निरन्तर काँचो छालाको प्रशोधन गरेर तयारी छालाको उत्पादन र निर्यात गर्दै आएको छ । हाल यो कम्पनी देशको ठूलो छाला निर्यातकर्तामध्येको एक हो । उद्योगले १५ लाख वर्ग फिटसम्म तयारी छालाको निर्यात गरेको छ ।
नेपाल प्रहरी र नेपाली सेनाले लगाउने बुटका लागि युनाइटेडले नै छाला आपूर्ति गर्दै आएको छ । छालाको प्रशोधन र व्यापारलाई पारिवारिक संस्कारकै रूपमा अँगालेको परवेजको परिवारले निर्णय तयारी छालाको उपयोग आफै गर्ने निर्णय गर्यो ।
पहिले जुत्ता कारखाना खोल्ने र क्रमशः अरू तयारी वस्तुहरूको उत्पादन गर्दै जाने तयारी छ । ‘हामीले नै निर्यात गरेको तयारी छालाबाट विश्वका विकसित मुलुकका उद्योगले तयारी वस्तु बनाएर निर्यात गरिरहेका छन् भने हामीले किन नगर्ने ?,’ पारिवारिक बैठकमा आफ्नो अन्तिम निर्णय सुनाउँदै परवेजले भने, ‘आगामी दसैं अगाडि नै हाम्रो उद्योगले उत्पादन गरेका जुत्ता बजारमा आइसक्नुपर्छ ।’
यही सोचअनुसार उनले युनाइटेड रियल लेदर नामको कारखाना दर्ता गरे । कारखाना सुनसरीको दुहबीमै रहने निश्चित भयो । युनाइटेड रियलले आफ्ना उत्पादन छालाका जुत्ताको पहिलो सो रुम विराटनगरमा खोलेको छ ।
विराटनगरको मेनरोडमा चल्तीमा रहेको सेन्ट्रल मलमा परवेजले पत्नीसहित शुक्रबार सो रुमको उद्घाटन गरे । ‘नेपालमै संकलित र प्रशोधित तयार गरिएको छालाबाट जुत्ता उत्पादन गर्ने पहिलो उद्योग बाँसबारी छालाजुत्ता कारखाना थियो,’ परवेजले भने, ‘बाँसबारी निजीकरणमा परेर बन्द पनि भइसक्यो । त्यसपछि हामीले हिम्मत गरेका छौँ ।’
उद्योगका अर्का संचालक मजहर हकका अनुसार २० करोड रुपैयाँको लगानीमा तत्काल जुत्ताको सानो कारखाना सञ्चालन सुरु गरिएको छ । व्यापार विस्तारसँगै उद्योगको क्षमता बढाइने योजना छ । उद्योगमा १० प्राविधिकसहित ५० जनाले रोजगारी पाएका छन् ।
प्रारम्भिक चरणमा युनाइटेडले जेन्स, लेडिज र बालबालिकाका गरी २८ प्रकारका जुत्ता उत्पादन गरेको छ । यिनमा स्कुलका छात्रछात्राले प्रयोग गर्ने जुत्ता पनि समावेश छन् ।
‘हाम्रो विशेषता के हो भने, हाम्रा उत्पादनमा रेक्सिन र अरू कुनै नक्कली छालाको प्रयोग छैन,’ मजहरले भने, ‘बजारमा पाइने धेरै जुत्ता छालाका जस्ता देखिन्छन् तर वास्तवमा छालाका होइनन् । हामी यो दोषबाट मुक्त छौं । शुद्धता हाम्रो पहिलो सर्त हो ।’
उनले उद्योगको उद्देश्य जुत्ताको निर्यात भएको उल्लेख गर्दै यसमा नेपालमै पाइने कच्चा पदार्थको प्रयोगको ९० प्रतिशत गरिएको दाबी गरे । उनले काँचो छाला पर्याप्त मात्रामा नेपालमै पाइने र यसैको संकलन र प्रशोधन गरेर आफ्नो उद्योगले तयारी छालाको उत्पादन गर्ने जानकारी दिए ।
जुत्ताको सोल (तलुवा)मात्र चीनबाट पैठारी गर्नुपर्छ । सोलको उत्पादन नेपालमा नै हुने भए पनि गुणस्तरीय हुन नसकेकाले चीनबाट मगाउनु परेको उनको भनाइ छ ।
व्यापार विस्तार हुँदै गएमा युनाइटेडले सोल उत्पादन कारखाना पनि स्थापना गर्ने उनले बताए । युनाइटेडले बाख्रा, भैंसी र राँगाका छालाबाट जुत्ता उत्पादन गरिरहेको छ । उद्योगले विराटनगरपछि दसैं अगाडि नै काठमाडौंको सातदोबाटोस्थित सेल्सबेरी स्टोर, नयाँ सडकस्थित विशाल बजार र पोखराको सेल्बेज स्टोरमा पनि सो रुम खोलिसक्ने योजना बनाएको छ ।
‘जुत्ताको बजार विस्तार र स्थापित भएपछि दोस्रो चरणमा हामी बेल्ट, वालेट, लेडिज ब्याग र ल्यापटप ब्यागको उत्पादन गर्नेछौं,’ उनले भने, ‘हाम्रो उत्पादनले आयात प्रतिस्थापनलाई मद्दत गर्ने विश्वास हामीले गरेका छौं । हामी अन्तर्राष्ट्रिय गुणस्तरको तयारी छाला उत्पादन गरिरहेका छौं । त्यसैले हामीले उत्पादन गरेका जुत्ता पनि अन्तर्राष्ट्रिय गुणस्तरको मापदण्डमा पर्छन् भन्ने हाम्रो दाबी छ ।’
उनले काँचो छालाको मुख्य संकलन स्थल काठमाडौं, ललितपुर र भक्तपुर भएको उल्लेख गरे । उनले नेपालका अरू कुनै पनि जिल्ला समन्वय समितिले छालामा निकासी कर नलगाएको तर उपत्यकाका तीन जिल्लाले प्रति थान ३० रुपैयाँका दरले निकासी कर लिइरहेको गुनासो गरे । मजहरले भने, ‘स्वदेशी उद्योगलाई प्रोत्साहन र आयातलाई प्रतिस्थापन गर्ने हो भने छालामा लिँदै आएको निकासी कर तुरुन्त बन्द गरिनु पर्छ ।’







