जन्म र मृत्युमा दिइने चामल प्रभावकारी बन्दै

असोज २४, जुम्ला ।
जन्म र मृत्युको बेला २० किलो चामल दिने कार्यक्रम जिल्लामा प्रभावकारी बन्दै गएको देखिएको छ ।

साबिकको कर्णाली अञ्चलका पाँच जिल्लाका स्थानीयलाई सरकारले जन्म र मृत्युको बेला उक्त परिमाणको चामल दिने गर्छ । हरेक घरमा जन्म र मृत्युको बेला ढुवानी रकमसहित प्रदान गरिने २० केजी चामलले केही राहतको महसुस भएको तिला गाउँपालिका–१ धनराज रावतले बताए ।

गत आर्थिक वर्षको साउनसम्म जन्मको अवसरमा जिल्लाका आठवटै स्थानीय तहबाट एक सय १४ जनालाई र मृत्यु भएका ४२ जनालाई चामल वितरण गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय जुम्लाका प्रमुख तिलक सुनारले बताए ।

आव २०७६÷७७ मा जन्म भएको अवसरमा प्रदान गरिने चामल एक सय १ जनालाई र मृत्यु भएका छ जनालाई चामल वितरण गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी जुम्ला शाखा कार्यालयबाट मृत्यु र जन्मका अवसरमा गत आवमा तीन सय ३८ र यो आव एक सय ७ जनालाई तीन लाख ९८ हजार तीन सय ६० रूपैयाँ रकम वितरण गरीएको छ ।

उक्त चामल ढुवानीका लागि एक लाख ५८ हजार आठ सय रकम दिएको शाखा प्रमुख सुनारले बताएका छन् । सरकारले निर्णय गरेको यो सुविधा लिनका लागि खाद्य कम्पनी जुम्लाले ३५ दिनको अवधि राखेर जन्मको हकमा बच्चा जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि, वडाको सिफारिस र मृत्यु हुनेको हकमा मृत्युदर्ता, वडाको सिफारिस र सेवा लिन आउने सेवाग्रहीको नागरिकताको प्रतिलिपिका आधारमा चामल र ढुवानी रकम प्रदान गर्दै आएको छ ।

कार्यक्रमअन्तर्गत चन्दननाथ नगरपालिका आसपासका गाउँका स्थानीय बासिन्दालाई पाँच सय रूपैयाँ दिइएको छ भने तिला, सिञ्जा, हिमा र कनकासुन्दरी बासिन्दालाई एक हजार रकम भुक्तानी गर्दै आएको खाद्य कम्पनी शाखा जुम्लाले जनाएको छ । (रासस)