असोज २४, काठमाडौं ।
कोरोना भाइरस (कोभिड १९) ले कृषि क्षेत्र धराशायी भएको विज्ञहरूले बताएका छन् । कोभिडले डेरी, तरकारी र पोल्ट्री क्षेत्रमा पूर्णरुपमा असर गरेको उनीहरूको भनाइ छ ।
गैरआवासीय नेपाली संघले आयोजना गरेको दोस्रो विश्वज्ञान सम्मेलनको अवसरमा कृषि तथा खाद्य सुरक्षाले उच्च प्राथमिकता पाएको छ । सम्मेलनमा कृषिसँग सम्बन्धीत आधा दर्जन भन्दा बढी कार्यपत्र प्र्रस्तुत भएका छन् ।
नेपालमा ६७ प्रतिशत कृषिमा आश्रित जनसंख्या भए पनि कृषिको व्यवसायिक उत्पादन हुन नसक्दा कुल ग्राहस्थ उत्पादनमा यसको यसको योगदान बढ्न सकेको छैन । नेपालले वर्षेनी दुई खर्ब भन्दा बढीको कृषिजन्य वस्तु आयात गर्दै आएको छ ।
डा. जगदिस तिमिल्सनाले कृषि क्षेत्रको उत्थानका लागि विशेष योजना ल्याउन आवश्यक भएको बताए । कार्यक्रममा कृषिसँग सम्बन्धीत दर्जनौं कार्यपत्र प्रस्तुत भएका थिए ।

राष्ट्रिय योजना आयोगको पूर्व सदस्य विमला राई पौडेलले कोभिडले कृषि र खाद्य क्षेत्रमा असर पारेको धारणा राखिन् । कृषिमा प्रशस्त सम्भावना भएपनि उत्पादनमा जान नसकिएको उनको भनाइ छ ।
‘कोभिड १९ ले भोकमरीको अवस्था आउन सक्ने देखिएको छ,’ उनले भनिन् । समयमा ढुवानी गर्न नसक्दा खाद्यन्न तथा खाद्य वस्तुमा कोभिडले असर गरेको उनले बताइन् ।
‘डेरी, तरकारी र पोल्ट्री व्यवसाय कोभिडले धराशायी बनाएको छ’ उनको भनाइ छ । मलको समस्या समाधान गर्न सरकारले नसकेको उनले बताइन् । उच्च उत्पादन, कृषि पूर्वाधार तथा प्रविधि नभएका कारण कृषि आत्मनिर्भर हुन सकेको छैन ।
किसानको प्रवद्र्धन हुन नसक्दा उनीहरू चिन्तित भइरहेका छन् । ‘रोडम्याप बनाएर निर्यातमा भन्दा आयात प्रतिष्थापन गर्न सके ठूलो उपलब्धी हुन्छ,’ उनको भनाइ थियो । कृषिमा आत्मनिर्भर हुन विदेशी लगानी आकर्षण गर्नुपर्ने उनको विचार छ ।
धान विशेषज्ञ भोलामान सिंह बस्नेतले चैते धान र बर्खे धान उत्पादन बढाउनुपर्नेमा जोड दिए । उत्पादन बढाउन सके मात्रै धानमा आत्मनिर्भर हुन सकिने उनको भनाइ छ ।
कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयका सहसचिव हरिबहादुर केसीले खाद्य र पोषण सुरक्षामा जोड दिनुपर्ने धारणा राखेका थिए । खाद्य सुरक्षा नीति र पोषणा सुरक्षा र स्वच्छतामा ध्यान दिनुपर्ने उनको भनाइ छ ।
नेपाल कृषि अनुसन्धान परिषद्को सदस्य यमुना घलेले धेरै खाद्य वस्तु संस्कृति र पहिचानसँग जोडिएको बताएकी थिइन् । खानेकुराको स्वाद, बनाउने शैली र समयले पनि खाद्यवसस्तुको उपयोगिता बढ्ने उनको भनाइ छ ।
‘खाना र पहिचान जोडिएर आउँछ,’ उनले भने, ‘बच्चा जन्मेदेखि मृत्युसंस्कारसँग खानाको महत्व छ ।’ रबर विज्ञ तिलक भण्डारीले नेपालमा रबरको व्यवसायिक खेतीको संभावना प्रशस्त रहेको औंल्याए । वर्षेनी ११ अर्बको रबर आयात भइरहेको भन्दै स्वदेशमै रबर उत्पादन गर्न सरकारले ध्यान दिन नसकेको गुनासो गरे । रबरबाट ५० हजार वस्तु उत्पादन गर्न सकिन्छ ।
रबर धानपछि दोस्रो बाली हो । २ प्रतिशत मात्रै स्वदेशी रबरले धानेको र ९८ प्रतिशत बाहिरबाट आउने गरेको छ । नेपालमा ११ अर्बको रबर आयात भएको छ ।
कोरोना भाइरस (कोभिड १९) ले माछा, मासु र दूधमा आत्मनिर्भर हुन कठिन देखिएको छ । सरकारले केही वर्षभित्रै ती दूध, माछा र मासुमा आत्मनिर्भर हुने लक्ष्य लिएपनि तत्काल पूरा हुनेछैन ।
गैरआवासीय नेपाली संघले आयोजना गरेको दोस्रो विश्व ज्ञान सम्मेलनको क्रममा ‘कोरोनापछि पशुपालनको इस्सु र समाधान’ कार्यपत्र प्रस्तुत गर्दै पशुसेवा विभागका निर्देशक वंशी शर्माले माछा, मासु, दूध र अण्डामा आत्मनिर्भर नजिक देखिएपनि कोभिडले असर पुर्याएको बताए ।
कुल ग्राहस्थ उत्पादनमा पशुपालन क्षेत्रको योगदान १३ प्रतिशत छ । कृषि क्षेत्रमै पशुपन्क्षीको योगदान ३० प्रतिशत छ । ६० प्रतिशत कृषक पशुपालन क्षेत्रमा संलग्न छन् ।
निर्देशक शर्माले पशुपालन क्षेत्र ग्रामीण अर्थतन्त्रको मेरुदण्ड भएकाले सरकारले पशुपालन क्षेत्रलाई प्राथमिकता दिदैँ आएको बताएका थिए । शर्माले पशुमा लाग्ने रोग खेरेट, पिपिआर लगायत निर्मुल पर्न सरकार लागिपरेको बताएका थिए ।
व्यवसायिक पशुपालनको विकासका लागि केन्द्र, प्रदेश र स्थानीय तहको समन्वयमा काम गर्न सके पशुपालन क्षेत्रले अर्थतन्त्रमा ठूलो योगदान दिने बताइएको छ । शर्माले गरिबीका कारण माछा, मासु र दूधको उपयोग बढ्न नसकेको बताए ।
पछिल्लो समयमा कोभिडले मासुको उपयोग झन् घटाएको र दूधको बिक्री हुन नसक्दा पाउडर बनाउनुपर्ने अवस्था आएको उनले बताए । सरकारले उत्पादन बढाउन पशुचौपायको कृत्रिम गर्भाधान समेत गराउँदै आएको छ ।







