नौ अर्ब भ्रष्टाचारको आरोपमाथि ओली, प्रचण्ड र देउवा मौन

असोज २४, काठमाडौं ।
पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले बहालवाला प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल र शेर बहादुर देउवामाथि नौ अर्ब भ्रष्टाचारको आरोप लगाएका छन् । तर यस विषयमा तीनै जनाले हालसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।

‘करोड र लाखका कुरा छोडौँ, अरब, अरबको लुट भइरहेको छ । म प्रधानमन्त्री छँदा शुरु गरेको बूढीगण्डकी जलविद्युत आयोजनाबाट केपी शर्मा ओली, शेरबहादुर देउवा र प्रचण्डले नौ अर्ब रुपैयाँ कमिशन खाएर अलपत्र पारिरहेका छन्’, भट्टराईले भनेका थिए ।

पालुङ्टार नगरपालिका–६ पौवाटारमा आयोजित राजनीतिक कार्यक्रममा बोल्दै बिहीबार उनले तीन प्रधानमन्त्रीले अर्बौंको भ्रष्टाचार गरेको प्रमाण पेश गर्न आफू तयार रहेको बताएका थिए ।

‘मलाई थाहा छ यो कुरा । प्रमाणित गर् भन्नुभयो भने म तुरुन्त गर्न सक्छु । यो मात्र होइन, अरु दस, आठ वटा आयोजनाबाट अर्बौंअर्ब कमिशन खाएर मुखमा बुझो लाएर बसेका छन् । चिट चोरेर आठ कक्षा पास गरेका र १० कक्षामा फेल भएकाहरुले कमिशनखोरसँगको साँठगाँठबाट मुलुक चलाएकाले अहिले यस्तो दुर्दशा भएको हो ।’

तर यस्तो आरोप लाग्दा समेत सत्तारूढ दलका दुई अध्यक्ष र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति केही बोलेका छैनन् । यस कारण बाहिर बाबुरामको आरोप सत्य हो कि भन्ने आशंका बढ्दै गएको छ ।

आफूमाथि यस्तो आरोप लागिसकेपछि प्रमाणित गर्न चुनौति नदिइ चुपचाप बस्दा ‘आरोप सत्य हो कि’ भन्ने आशंकालाई बल पुग्ने राजनीतिक विश्लेषक बताउँछन् । बहालवाला प्रधानमन्त्रीलाई समेत भ्रष्टाचारको आरोप लाग्दा यस विषयमा छानबिन गर्न कुनै निकाय तात्तिएको छैन ।