पाल्पाको निस्दी गाउँपालिका सिल

असोज २४, पाल्पा ।
जिल्लाको निस्दी गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि गाउँपालिकाको अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र कर्मचारीमा सङ्क्रमण पुष्टि भएलगत्तै यही असोज शुक्रबार मध्यरातदेखि कात्तिक १ गतेसम्मका लागि लागि गाउँपालिका सिल गरिएको बताइएको छ ।

गाउँपालिकाले ५० जनाको स्वाब सङ्कलन गरी पाल्पा अस्पतालमा सञ्चालन गरिएको कोभिड–१९ प्रयोगशालामा पठाएको थियो । तीमध्ये १० जनाको रिपोर्ट पोजेटिभ आएको हो । कोरोना सङ्क्रमित सबैको स्वास्थ्य अवस्था सामान्य छ ।

यसैगरी रामपुरमा कोरोना सङ्क्रमण देखिएपछि एक हप्तासम्मका लागि नगरपालिका सिल गरिने भएको छ । रामपुर अस्पतालमा कार्यरत २८ स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि शनिबार राति १२ बजेदेखि यही असोज ३० गतेसम्मका लागि नगरपालिकामा आवतजावत, व्यापार, व्यवसाय, उद्योग कलकारखाना, सवारी साधन सञ्चालनमा रोक लगाइने नगरप्रमुख रमणबहादुर थापाले जानकारी दिएका छन् ।

यसैगरी स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएपछि रामपुर अस्पतालले आकस्मिकबाहेकका अन्य सेवा बन्द गरेको छ । शुक्रबार अस्पतालमा कार्यरत २८ जना स्वास्थ्यकर्मीको कोरोना रिपोर्ट पोजेटिभ आएपछि अर्को सूचना जारी नगर्दासम्मका लागि अति आवश्यकबाहेकका बन्द गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर विजय परियारले बताए । (रासस)