असोज २४, चितवन ।
कोरोना सङ्क्रमण पुष्टि भई होम आइसोलेसनमा रहेका एक वृद्धको शुक्रबार मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२० माइली चोकका ६७ वर्षीय पुरुष छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार उनको शुक्रबार राति ९ बजे मृत्यु भएको हो । क्यान्सरका बिरामी उनको नियमित स्वास्थ्य परीक्षणका क्रममा असोज २१ गते स्वाब परीक्षणका लागि दिइएकोमा २३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
योसँगै जिल्लामा कोरोना सङ्क्रमण पुष्टि भई होम आाइसोलेसनमा रहेका पाँच जनाको मृत्यु भएको छ । जिल्लामा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या भने योसँगै ३१ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार हालसम्म जिल्लामा दुई हजार पाँच सय ९७ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये एक हजार पाँच सय ५३ जना निको भएर घर फर्किसकेका छन् ।







