काठमाडौँ – सरकारले काठमाडौं उपत्यकाका विभिन्न नदी किनार तथा जोखिमपूर्ण सार्वजनिक तथा सरकारी जग्गामा बनाइएका बस्तीहरू खाली गर्न थालेको छ ।
महानगरपालिका वडा नम्बर ९ स्थित गैरीगाउँ र वडा नम्बर ३१ स्थित शान्तिनगर, वडा नम्बर ११ स्थित थापाथलीमा रहेको सुकुमवासी बस्ती शनिबार बिहान डोजर लगाएर खाली गराएको हो । प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयका अनुसार बस्ती खाली गराउने कार्यमा नेपाल प्रहरी र महानगर प्रहरी बलले स्थानीयको सामान उठाउन र ढुवानी गर्न प्रत्यक्ष सहयोग गरेका थिए ।
बसोबास गरिरहेका नागरिकले समेत सरकारको कदममा ऐक्यबद्धता जनाउँदै सहयोग गरेपछि थापाथलीको बस्ती स्थानान्तरण कार्य शान्तिपूर्ण र सौहार्दपूर्ण रूपमा सम्पन्न जनाइएको छ ।
हालसम्म थापाथली, गैरीगाउँ र शान्तिनगरमा बसोबास गरिरहेका १४४ परिवार सरकारको सम्पर्कमा आएका छन् । बस्तीहरुमा कोही छुटेका छन् कि भनी खोजी तथा उद्धार कार्यलाई समेत जारी राखिएको शनिबार साँझ जारी प्रेस नोटमा जनाइएको छ ।
सम्पर्कमा आएका र उद्धार गरिएका परिवारहरूलाई सुरुमा दशरथ रंगशाला पुर्याएर उनीहरुको विवरण संकलन गरिएको छ । उनीहरूलाई तत्कालका लागि काठमाडौंका विभिन्न होटलहरूमा बसोबासको व्यवस्था मिलाइएको छ । यस्तै, घरायसी सामानहरू रंगशाला र कीर्तिपुरको सुन्दरीघाटस्थित राधास्वामी सत्संग ब्यास नेपालमा छुट्टाछुट्टै स्थान तय गरी सुरक्षित रूपमा भण्डारण गरिएको छ ।
यसैबीच, कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ८ को गोठाटार बुद्धचोक र वडा नम्बर ९ को मनोहरा टोलमा रहेका बस्तीहरू पनि खाली गर्न सुरु गरिएको छ । त्यस क्षेत्रमा अवरोध सिर्जना भएपछि आजको लागि उक्त प्रक्रिया रोकिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।






