कति भत्किए सुकुम्वासीका घर–टहरा ? प्रहरीको यस्तो छ विवरण

काठमाडौँ । नेपाल प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा अतिक्रमित सुकुम्वासी बस्ती हटाउने क्रममा हालसम्म १ हजार २ सय ७२ वटा घर–टहरा भत्काएको जनाएको छ ।

शनिबारदेखि सुरु भएको अभियान जारी रहेको र अझै ३ सय ७८ वटा घर–टहरा हटाउन बाँकी रहेको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार काठमाडौँ उपत्यकाअन्तर्गत थापाथली, गैरीगाउँ–बानेश्वर, मनोहरा जडीबुटी (काठमाडौँ) र मनोहरा बस्ती (भक्तपुर) क्षेत्रमा गरी कुल १ हजार ६ सय ५० वटा घर–टहरा रहेका थिए ।

थापाथली क्षेत्रमा शनिबार १४३ वटा घर–टहरा पूर्ण रूपमा भत्काइएको छ । उक्त स्थानका ३४ परिवारका जम्मा ११५ जनालाई उद्धार गरी कीर्तिपुरस्थित राधास्वामी सत्सङ्ग भवनमा राखिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी, गैरीगाउँ बानेश्वर क्षेत्रमा कुल ५७८ वटा घर–टहरा रहेका थिए, जसमा २१५ वटा पक्की र ३६३ वटा कच्ची घर थिए ।

शनिबार ५६० वटा घर–टहरा भत्काइएको थियो भने आइतबार थप ५ वटा भत्काइएपछि हालसम्म ५६५ वटा हटाइएको छ । उक्त क्षेत्रमा अझै १५ वटा पक्की घर भत्काउन बाँकी रहेको छ ।

यसैगरी, मनोहरा जडीबुटी क्षेत्रमा आइतबार ११४ वटा घर–टहरा सबै भत्काइएको छ । उक्त स्थानमा करिब ५५० देखि ६०० जनासम्म प्रभावित भएको अनुमान गरिएको छ ।

मनोहरा बस्ती भक्तपुरतर्फ भने कुल ८१५ वटा घर–टहरा रहेकामा ७७० वटा पक्की र ४५ वटा कच्ची संरचना रहेका थिए । तीमध्ये ४५० भन्दा बढी घर–टहरा भत्काइएको छ भने अझै करिब ३६५ वटा हटाउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले प्रभावित परिवारहरूको व्यवस्थापन तथा पुनःस्थापनाका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको जनाएको छ ।